काठमाडौं । नेपाली पत्रकारितामा ऋषि धमला एउटा यस्तो नाम हुन्, जसलाई चिनाउन परिचय आवश्यक पर्दैन। प्रधानमन्त्रीदेखि गाउँको चौतारोसम्म, समर्थन र आलोचना दुवै ध्रुवमा उनका पहिचान उत्तिकै बलिया छन्। ‘नाम होस् या बदनाम, तर गुमनाम नहोस्’ भन्ने सूत्रलाई व्यवहारमै उतार्दै आएका धमला अब पत्रकारिताको स्टुडियो छाडेर सिधै चुनावी मैदानमा उत्रिएका छन्।
रौतहट–४ बाट उम्मेदवारी दिएका धमलाको चुनावी अभियान हेर्दा यो सामान्य राजनीतिक प्रचारभन्दा बढी ‘परफर्मेन्स’ जस्तो देखिन्छ। उम्मेदवारी दर्ताको अघिल्लो दिन मात्र चुनाव लड्ने घोषणा गरेका उनी त्यसलगत्तै मधेसको देहातमा तुफानी गतिमा देखिन थाले। कहिले जेरी बनाउँदै, कहिले काठ काट्दै, कहिले साइकल सिक्दै—धमलाको घरदैलो अभियान कुनै निश्चित ढाँचामा सीमित छैन।
कुनै बेला रेडियो र टेलिभिजनमा ‘धमलाको हमला’ का रूपमा चिनिएका उनी, सामाजिक सञ्जालको युग आएपछि शैली फेरेर ‘ह्युमरसहितको हमला’ मा पुगे। अतिथिहरूलाई भिडाउने, आँसु र चिच्याहट मिसाउने, समाचारलाई अभिनयमा रूपान्तरण गर्ने उनको त्यो सिग्नेचर स्टाइल अहिले चुनावी प्रचारमा पनि स्पष्ट देखिन्छ। खेतमै उखु बोकेर ‘गाउँ–गाउँ लैजान सक्छु’ भन्ने संवाद होस् या ट्र्याक्टरमा बसेर किसानको महत्व व्याख्या—यी दृश्यहरू योजनाबद्ध स्क्रिप्टभन्दा पनि क्षणिक प्रयोगजस्ता देखिन्छन्।
धमलाको उम्मेदवारी प्रभु साह नेतृत्वको आम जनता पार्टीबाट हो, जहाँ उनकी श्रीमती उपाध्यक्ष छिन्। यसले उनको राजनीतिक यात्रामा पारिवारिक र संस्थागत नजिकोपनको चर्चा पनि सँगसँगै ल्याएको छ। आलोचकहरूका लागि यी गतिविधि चुनावी फण्डा हुन्, समर्थकका लागि भने ‘माटोसँग जोडिन खोजेको नेता’ को छवि।
तर धमलाले आफू केवल रमाइलोका लागि होइन, गम्भीर एजेन्डासहित आएको दाबी गर्न पनि भुलेका छैनन्। बिरामी भेट्दा आँसु झार्नु, भ्रष्टाचार र सुशासनको कुरा उठाउनु, रौतहटमा मेडिकल कलेज खोल्ने ‘मास्टर प्लान’ घोषणा गर्नु—यी सबैले उनी ‘फन्नी’ मात्र नभई ‘सिरियस’ पनि भएको सन्देश दिन खोजिरहेका छन्। ‘भाषण कम, एक्सन बढी’ भन्ने उनको दाबी चुनावी मैदानमा निरन्तर दोहोरिएको छ।
१४ वर्षको उमेरदेखि पत्रकारिता थालेको दाबी गर्ने धमला अब आफूले देश परिवर्तनका लागि काम गरेको र अब प्रत्यक्ष राजनीतिमार्फत त्यसलाई अगाडि बढाउने बताउँछन्। ‘जनता जान्न चाहन्छन्’ शैलीकै उद्घोषसहित उनले एक वर्षभित्र रौतहटबासीको मुहार फेर्ने गुरुयोजना ल्याउने घोषणा गरेका छन्। नेतासँग होइन, सिधै जनतासँग अन्तर्क्रिया गर्ने उनको भनाइ पुरानै राजनीतिक भाष्यसँग मेल खान्छ, तर त्यसलाई व्यवहारमा कसरी उतार्ने भन्ने प्रश्न खुलै छ।
चुनावपछि पत्रकारिता छोड्ने वा नछोड्नेबारे उनले स्पष्ट बोलेका छैनन्। तर सामाजिक सञ्जाल र सार्वजनिक चर्चाबाट टाढा नबस्ने संकेत भने प्रष्ट छ। आलोचनाले उनलाई खासै असर पार्दैन—यो उनको सबलता पनि हो, दुर्बलता पनि। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उनलाई ‘सर्कसको जोकर’ भने पनि धमलाले प्रतिक्रिया नजनाई आफ्नै बाटो हिँडिरहे। बुद्धवीर लामाको गीतझैँ—काँडेतार लगाए पनि यात्रा नरोकिने विश्वासका साथ—धमला अहिले चुनावी मैदानमा निरन्तर अघि बढिरहेका छन्। यो यात्रा संसदसम्म पुग्छ कि पुनः स्टुडियोमै फर्किन्छ, त्यो मतदाताले तय गर्नेछन्। तर एउटा कुरा निश्चित छ—ऋषि धमलाको चुनावी अभियान शान्त र सामान्य हुने छैन, न त गुमनाम नै।




