विराटनगर। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी विभाजन हुन नदिन आफूले मध्यमार्गी बाटो रोजेको बताएका छन् ।
बिहीबार मोरङ निर्वाचन क्षेत्र नम्बर ६ अन्तर्गत सुन्दरहरैँचामा कांग्रेस समर्थकहरूसँगको भेटघाटका क्रममा बोल्दै उनले विशेष महाधिवेशनमा सहभागी नभई पार्टी एकतामा जोड दिएको स्पष्ट पारे ।
डा. कोइरालाका अनुसार आफू विशेष महाधिवेशनको हलमा पुगेको भए कांग्रेस दुई टुक्रा हुने अवस्था सिर्जना हुने निश्चित थियो ।
“म त्यो हलमा गएको भए पार्टी दुई टुक्रा हुने थियो,” उनले भने, “त्यसैले पार्टी नफुटोस् भनेर मैले बीचको बाटो रोजेँ ।”
नेता कोइराला मोरङ निर्वाचन क्षेत्र नम्बर ६ बाट नेपाली कांग्रेसका उम्मेदवार हुन् ।




