काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ लाई शान्तिपूर्ण र सुरक्षित रूपमा सम्पन्न गराउने उद्देश्यसहित गृह मन्त्रालयअन्तर्गत जिल्ला प्रशासन कार्यालय काठमाडौंले इजाजतप्राप्त हातहतियार बुझाउन निर्देशन दिएको छ।
जिल्ला प्रशासन कार्यालयले प्रकाशित गरेको जरुरी सूचनाअनुसार व्यक्तिगत रूपमा राखिएका सबै इजाजतपत्र प्राप्त हातहतियार नजिकको प्रहरी कार्यालय वा प्रहरी इकाईमा लगत कायम हुने गरी २०८२ माघ २० गतेभित्र बुझाउनुपर्नेछ। सूचनामा निर्वाचन सम्पन्न भएको एक महिनापछि, अर्थात् २०८२ चैत २० गतेपछि, बुझाइएका हातहतियारहरू लगत कट्टा गरी सम्बन्धित धनीलाई फिर्ता गरिने उल्लेख गरिएको छ। निर्वाचनको सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै जारी गरिएको यस निर्देशनको पालना नगरी तोकिएको समयभित्र हातहतियार नबुझाएको पाइएमा प्रचलित कानूनबमोजिम कारबाही गरिने गृह प्रशासनले स्पष्ट पारेको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ताद्वारा जारी सूचनामा सबै सम्बन्धित व्यक्तिहरूलाई समयमै हातहतियार बुझाउन अनुरोध गरिएको छ।





