देश

प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा उम्मेदवारी दियो

भक्तपुर। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले ५९ जिल्लाका १२० निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गरेको छ।

पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईका अनुसार नेमकिपाले ६७ पुरुष र ५३ महिलालाई उम्मेदवार बनाएको छ। बागमती प्रदेशका १३ जिल्लामध्ये रसुवाबाहेक १२ जिल्लाका ३२ निर्वाचन क्षेत्रमा २० महिला र १२ पुरुष उम्मेदवार रहेका छन्। सो प्रदेशमा पार्टीका केन्द्रीय सचिव प्रेम सुवाललाई भक्तपुर क्षेत्र नम्बर १ बाट उम्मेदवार बनाइएको छ।

कर्णाली प्रदेशका सात जिल्लाका नौ निर्वाचन क्षेत्रमा एक महिलासहित नौ जनालाई उम्मेदवार बनाइएको छ। कालिकोटबाट नन्दबहादुर शाही, जुम्लाबाट बिर्खबहादुर राउत, दैलेखबाट बखतबहादुर थापा र सुर्खेतबाट तुलसी खड्का उम्मेदवार रहेका छन्।

यसैगरी कोशी प्रदेशका १२ जिल्लामा आठ महिला र १३ पुरुष, मधेश प्रदेशका आठ जिल्लामा ६ महिला र १६ पुरुष उम्मेदवार रहेका छन्। लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये सात जिल्लामा आठ महिला र ६ पुरुष उम्मेदवार बनाइएको छ।

गण्डकी प्रदेशका ११ मध्ये पाँच जिल्लामा ६ महिला र दुई पुरुष तथा सुदूरपश्चिम प्रदेशमा बाजुराबाहेक आठ जिल्लामा पाँच महिला र नौ पुरुषलाई उम्मेदवार बनाइएको पार्टीले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *