दैलेख । नारायण नगरपालिका–२ का ८१ वर्षीय धनबहादुर थापालाई मुटुमा गम्भीर समस्या देखिएपछि चिकित्सकले भारतको गुजरातस्थित एपोलो हस्पिटलमा भर्ना भई तत्काल शल्यक्रिया गर्न सुझाव दिएका थिए ।
यो उमेरमा शल्यक्रिया गर्दा सन्तानलाई दुःख हुने ठानेर उनी उपचार नगरी घर फर्किए । घर फर्किए लगत्तै पतञ्जली योग समिति दैलेखको योग शिविरमा नियमित ‘कपालभाती’ प्राणायाम गर्न थालेका थापाको अहिले मुटुको समस्या पूर्णरूपमा निको भएको छ ।
वृद्ध उमेरमा योगबाट स्वास्थ्य लाभ पाएका थापा भन्छन्, ‘योग अभ्यासले मानिसलाई नयाँ जीवन दिने रहेछ । अहिले म हिँडेरै सबै ठाउँ पुग्छु, स्मरण शक्ति बाल्यकालको जस्तै तेज भएको छ ।’ उनी त एक प्रतिनिधि पात्र मात्र हुन् । अहिले दैलेखमा धनबहादुर जस्तै थुप्रै नागरिक योगका माध्यमबाट जटिल रोग निको पारी स्वस्थ जीवन बिताइरहेका छन् ।
पतञ्जली योग समिति दैलेखका मुख्य प्रशिक्षक शङ्कर थापाको पहलमा जिल्लामा योगको लहर आएको हो । आफैँ वर्षौंसम्म ढाडको नशा च्यापिएर र पाचनप्रणालीको समस्याबाट थलिएका थापाले योगकै कारण स्वास्थ्य लाभ गरेपछि जिल्लाभर योग अभियान चलाएका थिए ।
उनले दैलेखवासीलाई निरोगी बनाउन ‘योग भवन’ बनाउने सपना देखे । उनकै निरन्तर सक्रियतामा तत्कालीन कणाली प्रदेशसभा सदस्य अमरबहादुर थापाले विनियोजन गरेको ५० लाख बजेटबाट दैलेखमा सुविधा सम्पन्न योग भवन निर्माण भएको छ ।
अहिले त्यही भवनमा दैलेखवासीले नयाँ जीवन पाइरहेका छन् । मुख्य प्रशिक्षक थापा भन्छन्, ‘खराब जीवनशैली र खानपान सुधार्ने हो भने योगले मुटु, मधुमेह, उच्च रक्तचाप, माइग्रेन, दमलगायत शरीरमा देख्न नसकिने खाले सुक्ष्म रोग निको पार्छ । अहिले आफ्नै भवन भएपछि ६५ देखि ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकको सहभागितासमेत उत्साहजनक छ ।’
यस्तै योगले महिलाहरूमा हुने जटिल स्वास्थ्य समस्या समाधानमा ठुलो सहयोग पुर्याएको छ । नारायण नगरपालिका–२ की भगवती थापा विगत लामो समयदेखि टन्सिलाइटिस र थाइराइडको समस्याबाट पीडित थिए ।
सोही समस्याका कारण उनले ब्याक्टेरियाको सङ्क्रमण रोक्न हरेक महिना एक हजार एमजीको मोनोसेफ इन्जेक्सन लगाउनुपर्ने बाध्यता थियो । उनको स्वास्थ्य अवस्था यति गम्भीर थियो कि हप्तामा एक पटक हातमा ‘क्यानुला’ अनिवार्य लगाउनुपथ्र्यो । आफ्नो विगतको पीडा स्मरण गर्दै थापा भन्छन्, ‘विगतमा स्वास्थ्य समस्याकै कारण मेरा तीन वटा बच्चा लगातार मृत जन्मिए, चौथो सन्तान पनि जटिल शल्यक्रियामार्फत जन्मिएको हो । तर जब मैले नियमित योग अभ्यास सुरु गरेँ, मेरा सबै स्वास्थ्य समस्याहरू निको भए । अहिले म आफैँ योग शिविरमा मुख्य महिला प्रशिक्षकको रूपमा सक्रिय छु । योगले मेरो जीवनमा ऊर्जा र नयाँ जीवन भरिदियो । ‘योग जस्तो ओखती अरू छैन, मानिसलाई स्वस्थ जीवनयापन गराउने भनेकै योग रहेछ’, थापाले भने ।
दुल्लु नगरपालिका–११ की राधाकुमारी शाही सुगर, मिर्गौलाको पत्थरी, कलेजोमा बोसो जमेको, पेट फुलिनी, खुट्टा सुनिने, उच्च रक्तचाप, युरिकएसिड, पाठेघर र महिनावारीको समस्या योगबाटै निको भएको बताउछिन् ।
दर्जनौँं रोगमाथि योगले विजय गरेको कथा सुनाउँदै उनी भन्छिन्, ‘पहिले मेरो बास अस्पतालमा हुन्थ्यो, ‘मेरो आधा कमाइ अस्पतालमै सकिन्थ्यो’ उनी स्मरण गर्छिन्, ‘अहिले पैसाको बचत भएको छ र स्वास्थ्य ठिक भएपछि खुसी छु । नयाँ जीवन पाएजस्तै भएको छ ।’ यस्तै नारायण नगरपालिका–६ की सरिता बुढाको देब्रे खुट्टामा नीला गाँठागुटी देखिने र लामो समयको उपचारले निको नभएको समस्या योगले समाधान गरेको उनको अनुभव छ । ‘अस्पतालले समय–समयमा इन्जेक्सनमार्फत ती गाँठाबाट हरियो पानी निकाल्ने गथ्र्यो बुढा भन्छिन्, ‘पहिला अस्पताल धाउँदा हैरान भएकी थिएँ, तर नियमित योग अभ्यासले अहिले सबै गाँठागुटी हराएका छन्, म पूर्ण स्वस्थ छु ।
नौमूले गाउँपालिका–८ का मणिकुमार रिमालले लामो समयदेखिको गहिरो डिप्रेसन (मानसिक समस्या) योगबाटै निको भएको जानकारी दिए । उनी भन्छन्, ‘मानसिक रोगले निराशा बनाउँदो रहेछ, ‘योगले मस्तिष्कलाई सक्रिय बनाउँदो रहेछ, तनाव र चिन्ता सबै हराएर जाँदो रहेछ, ‘उहाँ सुनाउनुहुन्छ तर योग आसनले मस्तिष्क सक्रिय बनाएपछि अहिले म पूर्ण रूपमा स्वस्थ र खुसी छु ।
यस्तै नारायण नगरपालिका–१ का रामकुमार श्रेष्ठले पनि नियमित योग अनुशासनका कारण आफ्नो फिस्टुलाको समस्या समाधान भएको बताउछन् । नारायण नगरपालिका–१ की सुस्मा न्यौपाने पनि योगकै कारण नयाँ जीवन पाएको बताउछिन् ।
उच्च रक्तचाप, मधुमेह र टन्सिलाइटिसका कारण उनी लामो समयदेखि पीडित थिइन् । योगले अहिले उच्च रक्तचाप, टन्सिलाइटिस र मधुमेह नियन्त्रणमा छ ।
नियमित योगकै कारण जटिल बन्दै गएका समस्या बिस्तारै सुधार हुँदै गएका छन् । उनी भन्छिन्, ‘यदि मैले समयमै योग सुरु नगरेको भए मेरो शरीर थला परिसक्ने थियो । योगले मलाई दिनभर मनमा शान्ति दिने, भावनात्मक रूपमा सकारात्मक ऊर्जा पैदा गरेको छ ।’
त्यस्तै, प्रशिक्षकको अनुपस्थितिमा भूमिका निभाउन सक्ने क्षमता बनाएकी ऋतु मल्लले मोटोपन नियन्त्रण भएको र मन शान्त रहेको अनुभव सुनाइन् । उनी भन्छिन्, ‘योगाभ्यास गरेमा मन चङ्गा र शरीर फूर्तिलो हुन्छ । मानिसको विचार, चालचलन, भोजनशैली, आचरण आदिमा सकारात्मक परिवर्तन आउँछ । मानिसमा असल चरित्र, गुण, चिन्तनको विकास हुन्छ ।’ अर्की प्रशिक्षक टीका रिजालले माइग्रेन र महिनावारीको समस्या योगले निको पारेको बताउँदै योगलाई औषधिभन्दा ठुलो उपचारका रूपमा व्याख्या गर्छन् । गैरसरकारी संस्था महासङ्घ दैलेखकी अध्यक्ष डिलकुमारी चन्दले शरीरका जोर्नी दुख्ने समस्या हटेर शरीर लचकदार बनेको बताउछिन् । जिल्लामा सुविधा सम्पन्न योग भवन बनेपछि दैनिक रूपमा योग गर्नेहरूको सङ्ख्या बढ्दो छ । दैलेख अहिले कर्णाली प्रदेशकै एक प्रमुख ‘योग हब’का रूपमा विकास भइरहेको छ ।
स्वास्थ्य सेवा कार्यालय दैलेखकी जनस्वास्थ्य नर्स अधिकृत हरिकला थापा योगलाई एक प्रकारको ‘ठुलो प्राकृतिक अस्पताल’ मान्छन् । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य परियोजना शाखा प्रमुख समेत रहेकी थापाले दीर्घकालीन रूपमा रोगमुक्त रहन योग विज्ञानको महत्त्व बुझ्न अपरिहार्य रहेको बताउछिन् । उनी भन्छिन्, ‘मैले योगको महत्त्व बुझेरै नछुटाएर आउने गरेको छु । अस्पतालको औषधिले तत्काल फाइदा गरे पनि त्यसको नकारात्मक असर (साइड इफेक्ट) हुनसक्ने र त्यसले अर्को स्वास्थ्य समस्या ल्याउने सम्भावना रहन्छ ।’ सबै नागरिकलाई उपचारका लागि आवश्यक पैसा जुटाउन कठिन हुने वर्तमान अवस्थामा नियमित योग अभ्यासले खर्च बचत गर्नुका साथै शरीरलाई दीर्घकालसम्म स्वस्थ राख्न मद्दत पु¥याउने उनको भनाइ छ ।’ नियमित योगले मन शान्त हुने, शरीरमा स्फूर्ति र ऊर्जा बढ्ने तथा दिमाग तेजिलो हुने भएकाले दीर्घकालीन रोगबाट मुक्ति पाउन यो अचुक औषधि सावित हुने उनी बताउछिन् ।
मुटुका रोगीहरूका लागि योग अत्यन्त फाइदाजनक छ । उचित खानपान, व्यायाम, तनाव व्यवस्थापन, प्राणायाम, ध्यान आदि मुटुको रोगको उपचारका लागि आवश्यक र सहयोगी विषय हुन् । यसबाट उच्च रक्तचाप, मधुमेह, कोलेस्टेरोल, मोटोपन आदि घट्ने हुन्छ र मुटुलाई स्वस्थ बनाउन सहयोग पुग्छ ।
मानसिक तनाव घटाउन योगको प्राणायाम र ध्यानभन्दा प्रभावकारी अर्को पद्धति नभएको योग प्रशिक्षक बताउछन् । नारायण नगरपालिका क्षेत्रका स्थानीय बासिन्दा पछिल्लो समय नियमित योग अभ्यासतर्फ आकर्षित भएका छन् ।
योगकै माध्यमबाट वर्षौँंदेखि बल्झिएका जटिल स्वास्थ्य समस्या समाधान हुन थालेपछि उनीहरूमा योगप्रतिको विश्वास बढेको हो ।




