देश

शान्तिसुरक्षाको प्रत्याभूति प्रदेश सरकारको पहिलो प्राथमिकता : मुख्यमन्त्री बानियाँ

बागमती। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नागरिकलाई शान्तिसुरक्षाको प्रत्याभूति दिलाउनु प्रदेश सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन्।

प्रदेश सरकारको तर्फबाट बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडालाई ३० थान मोटरसाइकल हस्तान्तरण गर्दै मुख्यमन्त्री बानियाँले प्रदेशको शान्तिसुरक्षा सुदृढ बनाउँदै नागरिकलाई पूर्ण रूपमा भयरहित वातावरणको प्रत्याभूति दिलाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।

मुख्यमन्त्री बानियाँले शान्तिसुरक्षा मजबुत बनाउँदै छिटोछरितो सेवा प्रवाहलाई प्रभावकारी बनाउन प्रदेश सरकारले प्रहरीलाई आवश्यक साधनस्रोत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे। सवारीसाधनको अभावका कारण प्रहरी परिचालन र सेवा प्रवाहमा कठिनाइ हुँदै आएको अवस्थालाई ध्यानमा राख्दै मोटरसाइकल उपलब्ध गराइएको उनको भनाइ छ।

कार्यक्रममा मुख्यमन्त्री बानियाँले बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख प्रहरी नायब महानिरीक्षक अरुण पौडेललाई मोटरसाइकल हस्तान्तरण गरेका हुन्। प्रदेश सरकारले सुरक्षा व्यवस्था सुदृढीकरण, छिटोछरितो सेवा प्रवाह तथा प्रहरी परिचालनलाई प्रभावकारी बनाउने उद्देश्यले रु ९७ लाख २० हजार बराबरका मोटरसाइकल खरिद गरी प्रहरीलाई हस्तान्तरण गरेको जानकारी दिइयो।

राष्ट्रियस्तरबाट बोलपत्र आह्वान गरी प्रचलित कानुन तथा स्वीकृत मापदण्डअनुसार खरिद गरिएका ती १६० सिसी क्षमताका एफआई तथा एबिएस प्रणालीयुक्त मोटरसाइकल हुन्।

कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङ, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडाका प्रमुख सचिव बाबुराम अधिकारीलगायत सुरक्षाकर्मीको उपस्थिति रहेको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *