काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक दान बहादुर कार्कीले संगठनको विकास र सुदृढीकरणका लागि सबै प्रहरी कर्मचारीको सामूहिक सहकार्य आवश्यक रहेको बताएका छन्। उनले प्रहरी कर्मचारीहरूले उच्च व्यावसायिकता, अनुशासन र नागरिकमैत्री सेवा प्रवाहमा केन्द्रित रहनुपर्नेमा जोड दिएका छन्।
प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा आयोजित कार्यक्रममा महानिरीक्षक कार्कीले आगामी निर्वाचनको सुरक्षासम्बन्धी संवेदनशीलता, समसामयिक चुनौती तथा प्रहरी कामकाजमा मार्गदर्शन दिएका हुन्। उनले प्रत्येक प्रहरी कर्मचारीले आफ्नो जिम्मेवारी पूर्णरूपमा बहन गर्नुपर्ने बताए।
महानिरीक्षक कार्कीले पारदर्शी र बस्तुनिष्ठ अपराध अनुसन्धान, सीमा नाकामा तस्करी नियन्त्रण, हातहतियार बरामद र फरार प्रतिवादी पक्राउमा प्राथमिकता दिन निर्देशन दिएका छन्। साथै, भिड नियन्त्रणमा बल प्रयोगको सिद्धान्त पालन र सवारी दुर्घटना न्यूनीकरणमा सक्रिय रहनुपर्ने उल्लेख गरेका छन्।
उनी भन्छन्, “आगामी निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा रणनीतिहरू लागू गर्दै स्थानीय तह र सरोकारवाला पक्षसँग समन्वय गरी व्यावसायिक, उत्तरदायी र जबाफदेही प्रहरी सेवा प्रवाह गर्नुपर्छ। प्रहरी कर्मचारीहरूले शिष्ट बोली, बचन र व्यवहारका साथ नागरिकका गुनासो सम्बोधनमा थप सक्रिय रहनु आवश्यक छ।”




