मुख्य समाचार

डा. शेखर कोइरालाद्वारा सभापति देउवालाई भेटेर विशेष महाधिवेशन रोक्न आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका इतर समूहका नेता डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर प्रस्तावित विशेष महाधिवेशन जसरी पनि रोक्न आग्रह गरेका छन् ।

बिहीबार बिहान डा. कोइराला कांग्रेस नेता डा. मिनेन्द्र रिजालसहित सभापति देउवाको निवास महाराजगञ्ज पुगेका थिए । करिब एक घन्टा भएको भेटवार्तामा कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले यही पुस २७ र २८ गते आह्वान गरेको विशेष महाधिवेशनबारे छलफल भएको थियो ।

भेटका क्रममा डा. कोइरालाले सभापति देउवालाई उक्त विशेष महाधिवेशन पार्टी विधानविपरीत रहेको भन्दै जसरी पनि रोक्न पहल गर्न आग्रह गरेका थिए । जवाफमा सभापति देउवाले पनि डा. कोइरालालाई आफ्नो तर्फबाट समेत विशेष महाधिवेशन रोक्ने प्रयासमा लाग्न आग्रह गरेका स्रोतको भनाइ छ ।

यसअघि नै नेपाली कांग्रेस केन्द्रीय कार्यालयले विज्ञप्ति जारी गर्दै महामन्त्रीद्वयले आह्वान गरेको विशेष महाधिवेशन विधानसम्मत नरहेको स्पष्ट गरिसकेको छ । डा. कोइरालाले पनि सार्वजनिक रूपमा महामन्त्रीले मात्र आह्वान गरेर कांग्रेस जस्तो ठूलो पार्टीको विशेष महाधिवेशन हुन नसक्ने धारणा व्यक्त गर्दै आएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *