कर्णाली प्रदेश

कर्णालीमा स्वास्थ्य सेवा सुदृढीकरण गर्ने अठोट

काठमाडौं। कर्णाली प्रदेश सरकारले प्रदेशका तीन जिल्लामा रहेका स्वास्थ्य संस्थाको सेवा विस्तार र सुदृढीकरणका लागि कुल तीन करोड रुपैयाँ बजेट अख्तियारी दिने निर्णय गरेको छ।बिहान सम्पन्न प्रदेश मन्त्रिपरिषद् बैठकले दैलेख, सुर्खेत र जुम्लामा रहेका स्वास्थ्य संस्थालाई लक्षित गर्दै सम्बन्धित स्थानीय तहमार्फत कार्यक्रम कार्यान्वयन गर्ने निर्णय गरेको हो।

प्रदेश सरकारका प्रवक्ता तथा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहका अनुसार संघीय निर्वाचन क्षेत्रमा प्रादेशिक अस्पताल नभएका स्थानका एक–एक स्वास्थ्य संस्थालाई मजबुत बनाउने उद्देश्यले बजेट विनियोजन गरिएको हो। सोही निर्णयअनुसार सुर्खेतको सालकोट अस्पतालका लागि पञ्चपुरी नगरपालिकालाई एक करोड, दैलेखको दुल्लु अस्पतालका लागि दुल्लु नगरपालिकालाई एक करोड र जुम्लाको कालिका खेतु प्राथमिक स्वास्थ्य चौकीका लागि हिमा गाउँपालिकालाई एक करोड रुपैयाँ उपलब्ध गराइनेछ।

यसैबीच, मन्त्रिपरिषद् बैठकले प्रादेशिक तथा स्थानीय सडक सुधार आयोजना अन्तर्गत प्रादेशिक आयोजना व्यवस्थापन इकाइ सुर्खेत र ग्रामीण सडक सञ्जाल सुधार आयोजनाको अस्थायी दरबन्दी संरचना स्वीकृत गर्ने निर्णय पनि गरेको छ।

त्यसैगरी, दैलेखको इलाका प्रहरी कार्यालय राकम कर्णालीको अधुरो भवन निर्माण कार्य पूरा गर्न ६० लाख रुपैयाँ बजेट अख्तियारी दिन नेपाल सरकारको गृह मन्त्रालय र अर्थ मन्त्रालयसँग स्वीकृति माग गर्ने निर्णयसमेत गरिएको प्रवक्ता शाहले जानकारी दिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *