काठमाडौं। काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार भ्रष्टाचारसम्बन्धी मुद्दाबाट पूर्ण रूपमा सफाइ पाएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको हानिनोक्सानी तथा भ्रष्टाचारको आरोपलाई विशेष अदालतले प्रमाणित हुन नसकेको ठहर गरेको हो।
न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र हेमन्त रावलको संयुक्त इजलासले संक्षिप्त फैसला सुनाउँदै परियारविरुद्धको आरोपमा दोष देखिन नसक्ने निष्कर्ष निकालेको छ। अदालतले बोलपत्र स्वीकृत गर्ने क्रममा बदनियत देखिने कुनै ठोस आधार नपाइएको स्पष्ट पारेको छ।
फैसलामा अदालतले उल्लेख गरेको छ, “रकम हानिनोक्सानी गरेको वा दुरुपयोग गराएको भनी मान्न सकिने अवस्था देखिँदैन।” यससँगै अख्तियारको दाबी असफल भएको ठहर अदालतले गरेको हो। अख्तियारले सामाखुसी करिडोरअन्तर्गत ढल निर्माण कार्यको ठेक्कामा अनियमितता भएको आरोप लगाउँदै परियारसहित सात जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। सो मुद्दामा बोलपत्र मूल्यांकन समितिका पदाधिकारीहरू रवीनमान श्रेष्ठ, शिवराज अधिकारी, बसन्त आचार्य, नमराज ढकाल, जनार्दन गिरी र उत्तम दाहाल पनि प्रतिवादी थिए।
विशेष अदालतले सबै प्रतिवादीमाथि लगाइएका आरोप पुष्टि हुन नसकेको निष्कर्ष निकाल्दै सातै जनालाई सफाइ दिएको छ। यस फैसलासँगै लामो समयदेखि चल्दै आएको उक्त भ्रष्टाचार मुद्दा अन्त्य भएको छ।




