देश

निर्वाचनको वातावरण बनेको छ : कानुनमन्त्री सिन्हा

काठमाडौँ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले मुलुकमा निर्वाचनको अनुकूल वातावरण बन्दै गएको बताउँदै निर्धारित समयमै निर्वाचन हुने विश्वास व्यक्त गरेका छन्।

निर्वाचन आयोगद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ का लागि आज आयोजित ‘मुख्य प्रशिक्षक प्रशिक्षण कार्यशाला गोष्ठी’मा मन्तव्य राख्दै मन्त्री सिन्हाले भदौ २३ र २४ को जेनजी आन्दोलनपछि बनेको वर्तमान सरकारले निर्वाचनलाई मुख्य प्राथमिकतामा राखेको स्पष्ट पारे।
“निर्वाचन आयोगसँगको निरन्तर छलफलपछि निर्वाचन गराउने वातावरण निर्माण भएको छ,” उनले भने।

मन्त्री सिन्हाले जेनजी आन्दोलनपछिको परिस्थितिमा सुरक्षाकर्मीहरू चप्पल र सादा पोशाकमा कार्यस्थलमा खटिएको प्रसङ्ग स्मरण गर्दै प्रहरीको खस्किएको मनोबल उठाउन सरकार प्रयत्नशील रहेको बताए। साथै, जेनजी पुस्ताले उठाएका मागहरू संविधान संशोधनमार्फत सम्बोधन हुने र संविधान संशोधनको एकमात्र वैधानिक बाटो निर्वाचन नै भएको उनले उल्लेख गरे।

उनले कठिन परिस्थितिमा राष्ट्रपतिले वर्तमान सरकारलाई निर्वाचन सम्पन्न गराउने जिम्मेवारी सुम्पिएको भन्दै उक्त जिम्मेवारी समयमै पूरा गर्न सरकार दृढताका साथ लागेको बताए।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउन निर्वाचन आयोग पूर्ण रूपमा जुटेको बताए। उनले निर्वाचन सफल बनाउन सरकार, निर्वाचन आयोग र राजनीतिक दलबीच समन्वय अपरिहार्य रहेको उल्लेख गरे।

भण्डारीले निर्वाचनलाई भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्ने साझा जिम्मेवारी सबै पक्षको रहेको भन्दै गृह मन्त्रालयले सातै प्रदेशमा सुरक्षा गोष्ठी सम्पन्न गरिसकेको जानकारी दिए। निर्वाचन सुरक्षाका लागि संयुक्त कमाण्ड फोर्स गठनको तयारी भइरहेको पनि उनले बताए।

दुई दिनसम्म सञ्चालन हुने कार्यशाला गोष्ठीमा प्रतिनिधिसभा निर्वाचनसम्बन्धी संवैधानिक तथा कानुनी व्यवस्था, निर्वाचन कार्यक्रम, जनशक्ति, आर्थिक तथा सुरक्षा व्यवस्थापन, मतदाता शिक्षा, मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति नियन्त्रण, निर्वाचन आचारसंहिता अनुगमन तथा पर्यवेक्षणका विषयमा छलफल हुनेछ।

यसैगरी, निर्वाचन आयोगमा रहेका सूचना प्रविधिसम्बन्धी प्रणाली, मतदाता नामावली, मतदान तथा मतगणना प्रक्रिया, प्रतिवेदनलगायत व्यवस्थापकीय विषयमा पनि विस्तृत छलफल हुने निर्वाचन आयोगले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *