राजनीति

विशेष महाधिवेशनको माग गर्दै काँग्रेस कार्यकर्ताद्वारा सानेपा घेराउ

काठमाडौँ । नेपाली काँग्रेसभित्र विशेष महाधिवेशनको माग गर्दै आएका पक्षधरहरूले पार्टी केन्द्रीय कार्यालय सानेपामा घेराउ गरेका छन्। नियमित १५औँ महाधिवेशनको कार्यतालिका कार्यान्वयन हुन नसकेपछि पार्टीभित्र असन्तोष चुलिँदै गएको हो।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा विशेष महाधिवेशनको तयारी तीव्र बनाइएको छ। काँग्रेस विधानको धारा १७(२) अनुसार ५४ प्रतिशतभन्दा बढी, अर्थात् २ हजार ४८८ महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाएको तीन महिना पुग्न लाग्दा पनि केन्द्रीय नेतृत्वले निर्णय नगरेको भन्दै पक्षधरहरू आक्रोशित भएका छन्।

सोही आक्रोशका बीच विशेष महाधिवेशन पक्षधर कार्यकर्ताहरूले केन्द्रीय कार्यालय घेराउ गर्दै नाराबाजी गरेका हुन्।

पक्षधर समूहले भृकुटीमण्डपमा हल बुकिङ गरी पुस मसान्तमै विशेष महाधिवेशन गर्ने तयारी थालेको जनाएको छ। तर, संस्थापन पक्षले भने नियमित महाधिवेशनलाई वैशाखमा सारेर अघि बढ्ने निर्णय गरिसकेको छ।

पार्टीभित्रको यो आन्तरिक कलहले आगामी फागुनमा हुने संसदीय निर्वाचनमा समेत प्रभाव पार्ने देखिएको छ। पार्टी एकता कायम राख्नका लागि छलफल जारी रहे पनि हालसम्म ठोस सहमति जुट्न सकेको छैन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *