काठमाडौँ । नेपालका ६ कम्युनिस्ट पार्टीसँग आबद्ध किसान संगठनहरूले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो मोरोसको ‘अपहरण’ भएको घटनाको कडा निन्दा गरेका छन्। सोमबार जारी गरेको संयुक्त प्रेस वक्तव्यमा ती संगठनले अमेरिकी साम्राज्यवादले भेनेजुएलाको सार्वभौमसत्तामाथि आक्रमण गरेको आरोप लगाएका छन्।
वक्तव्यमा यो घटनालाई स्वतन्त्र राष्ट्र र सार्वभौम जनताविरुद्ध गरिएको अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन, संयुक्त राष्ट्रसंघको बडापत्रको उल्लङ्घन तथा राजनीतिक स्वतन्त्रताका मौलिक सिद्धान्तहरूको घोर उल्लङ्घन भनेर व्याख्या गरिएको छ। संगठनहरूले अमेरिकी हस्तक्षेपलाई स्वतन्त्र राष्ट्रहरूलाई आफ्नो प्रभुत्वमा झुकाउने, प्राकृतिक स्रोत लुट्ने र समाजवादी क्रान्तिलाई ध्वस्त पार्ने दीर्घकालीन षड्यन्त्रको निरन्तरता भएको उल्लेख गरेका छन्।
संगठनहरूको ठहर छ कि पश्चिमी शक्तिहरूले लोकतान्त्रिक माध्यमबाट पराजित भएपछि नाकाबन्दी, राजनीतिक हिंसा र भाडाका सैनिक प्रयोग गर्दै आएका छन् र अहिले अपहरणजस्तो फासिवादी कदम अपनाएको छ।
किसान संगठनहरूले राष्ट्रपति मादुरोलाई तुरुन्त र बिना सर्त रिहा गर्न माग गरेका छन्। साथै, भेनेजुएलाको सार्वभौमसत्ताको सम्मान गर्दै त्यहाँ भइरहेको सैन्य, राजनीतिक र आर्थिक आक्रमण तुरुन्त अन्त्य गर्नुपर्ने उनीहरूको आग्रह छ। उनीहरूले भेनेजुएली जनतामाथि थोपरिएका एकपक्षीय दमनकारी प्रतिबन्ध र नाकाबन्दी हटाउन तथा यसका योजनाकारलाई अन्तर्राष्ट्रिय मञ्चमा जवाफदेही बनाउन पनि जोड दिएका छन्।
संगठनहरूले विश्वभरका क्रान्तिकारी तथा साम्राज्यवाद विरोधी शक्तिहरूलाई संयुक्त संघर्षमा उत्रिन आह्वान गरेका छन्। उनीहरूको भनाइ अनुसार, नेपाली किसानहरू भेनेजुएलाका श्रमिक र किसानको पक्षमा दृढतापूर्वक उभिएका छन्।
संयुक्त विज्ञप्तिमा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल किसान महासंघ, अखिल नेपाल किसान महासंघ (अप्फा), क्रान्तिकारी किसान महासंघ नेपाल, अखिल नेपाल किसान युनियन र अखिल नेपाल प्रगतिशील किसान संघले हस्ताक्षर गरेका छन्।




