काठमाडौं । सरकारले धार्मिक समुदायबीच हिंसा भड्काउने खालका गतिविधिमा संलग्न व्यक्तिहरूमाथि कडा कारबाही गर्ने निर्णय गरेको छ।
आइतबार सिंहदरबारमा गृहमन्त्री ओमप्रकाश अर्यालको उपस्थितिमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले मधेस प्रदेशमा देखिएका धार्मिक तथा साम्प्रदायिक हिंसा भड्काउने गतिविधि तत्काल नियन्त्रण गर्न आवश्यक कानुनी कारबाही अघि बढाउने निर्णय गरेको हो।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार बैठकले यस्ता गतिविधिमा संलग्न जिल्लाहरूमा धार्मिक सद्भाव र सहिष्णुता प्रवर्द्धन गर्न प्रदेश तथा स्थानीय सरकारसँग समन्वय गरी सचेतनामूलक तथा प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्न आग्रह गरेको छ।
मधेस प्रदेशका वीरगञ्ज, जनकपुरलगायत जिल्लाहरूमा टिकटकमार्फत ‘हिन्दुस्तान’ को नाम उल्लेख गर्दै धार्मिक सहिष्णुतामा खलल पुग्ने सामग्री पोस्ट गरिएपछि हिंसात्मक गतिविधि बढ्न थालेको भन्दै सरकारले यस्ता गतिविधि हुन नदिन स्थानीय प्रशासनलाई कडाइका साथ निगरानी गर्न निर्देशन दिएको छ।
यसै विषयमा गृह मन्त्रालयले सोमबार (भोलि) राष्ट्रिय मानव अधिकार आयोगलगायत सरोकारवाला निकायसँग छलफल गर्न बैठक बोलाएको छ।
बैठकमा जेनजी आन्दोलनका क्रममा फरार रहेका कैदीहरूलाई पक्राउ गर्ने अभियानलाई तीव्रता दिन गृहमन्त्री अर्यालले प्रहरी प्रशासनलाई निर्देशन दिएका छन्। साथै, सुरक्षा निकायका प्रमुखहरूले आगामी निर्वाचनको तयारीका सन्दर्भमा भइरहेका कामबारे गृहमन्त्रीलाई जानकारी गराएका थिए।




