देश

समानुपातिक बन्दसूचि रुजु सकियो, त्रुटी सच्याउने प्रक्रिया सुरु

काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फ राजनीतिक दलहरूले बुझाएको बन्दसूचिसम्बन्धी कागजातको रुजु सम्पन्न गरेको छ ।

आयोगका तथ्याङ्क शाखाका निर्देशक पूर्णबहादुर घर्तीमगरकाअनुसार पुस १६ गतेदेखि २० गतेसम्म दलहरूको बन्दसूचिमा रहेका कागजातहरूको जाँच गरिएको हो ।

रुजु गर्नेक्रममा देखिएका कैफियतहरू छुट्टयाएर सम्बन्धित राजनीतिक दललाई आईतवार साँझसम्म पत्रमार्फत जानकारी गराइने उनले जानकारी दिए ।

कागजात नपुगेका, उमेर नपुगेका लगायतका सबै त्रुटी छुट्याएर दलहरूलाई सच्याउन पठाइने उनले बताए । उनकाअनुसार २१ गतेदेखि २७ गतेसम्म दलहरूले त्रुटी सच्याएर पुनः बन्दसूचि पेश गर्न पाउनेछन् ।

अन्तिम सूचि सार्वजनिक हुनुअघि सम्बन्धित उम्मेदवारहरूले आफ्नो नाम फिर्ता लिनसक्ने उनले बताए । समानुपातिक सूचिमा रहन नचाहने उम्मेदवारले २८ गते उम्मेदवारी फिर्ता लिन पाउनेछन् । त्यसको जानकारी पनि आयोगले सम्बन्धित दललाई दिने उनले बताए ।

दलबाट प्राप्त अन्तिम विवरणका आधारमा खाली स्थानमा नयाँ उम्मेदवार सिफारिस गरेपछि तयार हुने अन्तिम बन्दसूचिलाई निर्वाचन आयोगले सार्वजनिक गर्ने उनले जानकारी दिए ।

फागुन २१ गते हुने निर्वाचनका लागि राजनीतिक दलहरुले पुस १३ र १४ गते समानुपातिक तर्फको बन्दसूचि पेश गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *