मुख्य समाचार

भेनेजुएलामाथि अमेरिकी हस्तक्षेप : एमालेले अन्तर्राष्ट्रिय कानुन र स्वाधीनतामाथि प्रश्न उठायो

काठमाडौं । नेकपा एमालेले भेनेजुएलामा अमेरिकाले गरेको सैन्य हस्तक्षेपलाई अस्वीकार्य र साम्राज्यवादी कदम भएको भन्दै गम्भीर आपत्ति जनाएको छ। पार्टीका सचिव महेश बस्नेतले स्वतन्त्र राष्ट्रको सार्वभौमिकता केवल शक्ति वा दबाबमा होइन, जनताको इच्छामा आधारित हुने स्पष्ट पारेका छन्।

सचिव बस्नेतले भने, “कुनै पनि राष्ट्रमाथि बल प्रयोग गरेर हस्तक्षेप गर्नु सभ्य समाजका लागि स्वीकार्य होइन। यस्ता कदमले विश्व व्यवस्थालाई अस्थिर बनाउने खतरा बढाउँछ।” उनले विश्व समुदायलाई समानता, पारस्परिक सम्मान र सार्वभौमिकताको रक्षा गर्दै संयुक्त रूपमा प्रतिरोध गर्न आवश्यक रहेको औँल्याए।

महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमार्फत संयुक्त राष्ट्रसंघ लगायत विश्व संस्थाहरूको प्रतिष्ठा नै चुनौती दिनेगरी अमेरिकी सैन्य हस्तक्षेप भएको बताउँदै यसलाई स्वीकार्य नभएको स्पष्ट पारे। उनले भने, “कुनै देशका जननिर्वाचित राष्ट्र प्रमुखलाई अर्को देशको आदेशमा नियन्त्रणमा लिने र अभियोग लगाउने कार्य अन्तर्राष्ट्रिय कानून र लोकतान्त्रिक मूल्यको ठाडो उल्लङ्घन हो। यस विषयमा अमेरिकाभित्रै जिम्मेवार बहस आवश्यक छ।”

एमालेले यस घटनालाई विश्वशान्ति, अन्तर्राष्ट्रिय कानुन र राष्ट्रहरूको स्वाधीनतामाथि गम्भीर प्रश्न उठाउने कदम भन्दै विश्व समुदायलाई भौमिक अधिकारको संरक्षणमा सक्रिय भूमिका निभाउन आह्वान गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *