कैलाली । नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले गणतन्त्र पक्षधर एक भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
उपमहासचिवमा विजयी भएपछि पहिलो पटक गृहजिल्ला कैलाली पुगेका भट्टले धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै गणतन्त्र पक्षधरहरू संविधानको रक्षाका लागि एकजुट हुनुपर्नेमा एमालेको जोड रहेको बताएका हुन्।
‘सकेसम्म गणतन्त्र पक्षधरहरूले संविधानको रक्षाका लागि मिल्नुपर्छ भन्नेमा हाम्रो जोड छ,’ उनले भने।
आसन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस, एमाले र नेकपा मिलेर चुनाव लड्ने सम्भावनाबारे प्रश्न गर्दा भट्टले भने, ‘राजनीति हो, सम्भावनालाई नकार्न सकिँदैन। नेतृत्वको बीचमा छलफल भइरहेको छ र सम्पर्क गाढा भइरहेको छ।’




