काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अनौपचारिक कार्यदलले उज्यालो नेपालका अध्यक्ष अनुपकुमार उपाध्यायलाई पार्टीको सल्लाहकार परिषद् अध्यक्ष बनाउने सहमति जुटाएको छ। हिजो बसेको कार्यदल बैठकले उक्त सहमति गरेको हो।
रास्वपाले पार्टी एकताको मोडालिटी तय गर्न रास्वपा, उज्यालो नेपाल र बालेन पक्षका नेताहरू सम्मिलित अनौपचारिक कार्यदल गठन गरेको हो। कार्यदललाई आज बस्ने बैठकले औपचारिकता दिने सम्भावना छ। हिजोको बैठकमा पार्टी एकताको खाकाबारे विस्तृत छलफल भएको थियो।
छलफलका क्रममा उज्यालो नेपालका अध्यक्ष उपाध्यायलाई रास्वपाको सल्लाहकार परिषद्मा समावेश गर्ने विषयमा सहमति जुटेको एक नेताले जानकारी दिए। उक्त प्रस्ताव रास्वपाको केन्द्रीय समितिमा पेश गरिनेछ।
रास्वपाको गत असोजमा बसेको सचिवालय बैठकले सल्लाहकार परिषद् गठन प्रक्रिया सुरु गरेको थियो। परिषद् सदस्यका रूपमा जगन्नाथ पौडेल (चितवन), नमस्तेलाल भूमि (तनहुँ), शोभा जोशी विजुक्छे (ललितपुर), बुद्धिलाल विश्वकर्मा (सप्तरी) र जयकिशोर लाल (महोत्तरी) मनोनित भइसकेका छन्। तर हालसम्म परिषद्को अध्यक्ष नियुक्त गरिएको थिएन।




