देश

हत्या धम्की प्रकरण: प्रकाश पाठक फिलिपिन्समा समातिए

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने प्रकाश पाठक पक्राउ परेका छन् ।

नेपाल प्रहरीको अनुरोधमा अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा डिफ्युजन नोटिस जारी भएका पाठकलाई फिलिपिन्सको ब्युरो अफ इमिग्रेसन (बीआई) अन्तर्गतको फरार अभियुक्त खोजी युनिटले मालोलोस सहरबाट पक्राउ गरेको हो ।

बीआईले पाठकको फोटोसहित विवरण आफ्नो वेबसाइटमा सार्वजनिक गरेको छ । जिल्ला अदालत, काठमाडौँले १ डिसेम्बर २०२५ मा आपराधिक विश्वासघातको कसुरमा पक्राउ पुर्जी जारी गरेको थियो । सो विवरण बीआईसम्म पुगेको जनाइएको छ । पाठकविरुद्ध जबरजस्ती असुली र आपराधिक षड्यन्त्रको आरोपमा इन्टरपोलमा पनि डिफ्युजन नोटिस जारी गरिएको थियो ।

‘फिलिपिन्सको अध्यागमनले प्राप्त गरेको आधिकारिक सूचना अनुसार उनले फरार कैदीहरुलाई आत्मसमर्पण नगर्न उक्साउने, आर्थिक सहयोग दिने तथा हतियारसम्म पहुँच रहेको संकेत दिने अभिव्यक्ति दिएका थिए,’ अध्यागमनको वेबसाइटमा भनिएको छ, ‘उनी एक उच्चपदस्थ विदेशी सरकारी अधिकारीको हत्या गर्ने षड्यन्त्रसँग पनि जोडिएको पाइएको छ ।’

फिलिपिन्सको अध्यागमन रेकर्ड अनुसार पाठक १८ अगस्ट २०२५ मा त्यहाँ पुगेका थिए । उनलाई १८ डिसेम्बरसम्म बसोबासको अनुमति थियो । डिपोर्ट प्रक्रिया पूरा नभएसम्म उनलाई अध्यागमनको हिरासतमा राखिने बताइएको छ ।

पाठकले आफूलाई उग्रवादी संगठनको प्रमुख भएको बताउँदै राईसहित अन्य व्यक्तिको हत्या गर्ने धम्की दिएको आरोप छ । यस घटनासँग सम्बन्धित उनका तीन जना साथीलाई काठमाडौं प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *