राजनीति

पार्टी एक ढिक्का रहन्छ, आशङ्का नगर्नुस्: महामन्त्री शर्मा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विधानअनुसार पार्टी अघि बढ्दा कुनै हालतमा विभाजन नहुने स्पष्ट पार्दै पार्टी फुट्ने आशङ्का नगर्न कार्यकर्तालाई आग्रह गरेका छन् ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पार्टीभित्र एकताको विषयमा उठाइएका आशङ्काहरू निराधार भएको बताए । काँग्रेस थप मजबुत र सशक्त भएर अघि बढ्ने उनको भनाइ थियो ।

महामन्त्री शर्माले वर्तमान राष्ट्रिय परिस्थितिमा काँग्रेसले महाधिवेशनमार्फत नेतृत्व, नीति र दृष्टिकोण तय गरेर अघि बढ्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे । सोही आधारमा महाधिवेशनको मिति तोकिए पनि विभिन्न कारणले तोकिएको समयमा महाधिवेशन गर्न नसकिएको उनले बताए ।

उनले निर्वाचनअघि राष्ट्रिय सङ्कल्पसहित अघि बढ्न नसकिए विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्ने विकल्पबारे केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा छलफल हुने जानकारी दिए ।

महामन्त्री शर्माले भने, ‘विधानअनुसार कुनै पनि प्रक्रिया अघि बढाउँदा पार्टी फुट्दैन, एक ढिक्का रहन्छ । यस सन्दर्भमा कसैलाई आशङ्का छ भने त्यस्तो आशङ्का नराख्दा हुन्छ । धेरै पार्टीका साथीहरूले आशङ्का व्यक्त गर्नुभएको छ, सबैलाई ढुक्क गराउन चाहन्छु ।’

काँग्रेसमा नियमित महाधिवेशनको कार्यक्रम अघि नबढेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको प्रक्रिया अघि बढाएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *