काठमाडौँ ।भदौ २३ र २४ गते भएका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाललाई पत्राचार गरेको छ ।
आयोगका एक सदस्यका अनुसार दुई दिनमा भएका घटनाबारे बुझ्नका लागि दुवै नेतासँग पत्रमार्फत जानकारी माग गरिएको हो । आयोगले बयान दिन उपस्थित हुन आग्रह गर्दै सम्भव नभए लिखित जवाफ पठाउन पनि अनुरोध गरेको छ । सोहीअनुसार आवश्यक प्रश्नहरू समेत पत्रसँगै पठाइएको आयोगले जनाएको छ ।
आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बयानका लागि पत्र पठाउने तयारी गरेको छ । यसअघि आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बुधबार बयान लिएको थियो । त्यसैको निरन्तरतामा आयोगले बिहीबार सिंहदरबारमा प्रधानमन्त्री कार्कीसँग छलफल गरेको जनाएको छ ।
भदौ २३ र २४ का घटनाबारे सत्यतथ्य पत्ता लगाउने तथा जिम्मेवारी निर्धारण गर्ने उद्देश्यका साथ आयोगले उच्च तहका राजनीतिक नेतृत्वसँग समेत बयान लिने प्रक्रिया अघि बढाएको छ ।




