देश

अनशनरत डा. निकोलसको विषयमा सरकारसँग औपचारिक छलफल

काठमाडौं । आमरण अनशनमा रहेका डा. निकोलस भुसालको मागका विषयमा सरकार र उनका प्रतिनिधिहरूबीच औपचारिक वार्ता भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार साँझ दुवै पक्षबीच छलफल भएको हो।

वार्तामा सरकारको तर्फबाट प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख सल्लाहकार अजयभद्र खनाल र जनसम्पर्क सल्लाहकार गोविन्दनारायण तिमिल्सिना सहभागी थिए। डा. भुसालको तर्फबाट लेनिन विष्ट, सुनिल सिंह, सौरभ भण्डारी, डा. जगत विक, एसपी शाह, विक्रम कार्की, सुमन बोहोरा, नर्गिस थापा, सागर भुसाल र तुलसीकुमार भुसाल उपस्थित थिए।

छलफलमा डा. भुसालले उठाएका माग, अनशनको कारण र सम्भावित समाधानका विषयमा विचार–विमर्श भएको बताइएको छ। यद्यपि वार्ताबाट ठोस निष्कर्ष ननिस्किएको जनाइएको छ।

प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा माग गर्दै डा. भुसाल पुस ८ गतेदेखि आमरण अनशनमा बस्दै आएका छन्। अनशनको क्रममा स्वास्थ्य अवस्था गम्भीर बनेपछि उनलाई वीर अस्पतालमा भर्ना गरिएको छ। सरकार र डा. भुसाल पक्षबीच वार्ता जारी रहने संकेत दिइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *