काठमाडौँ। सन् २०२५ मा ११ लाख ५८ हजार ४५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार सन् २०२५ मा विभिन्न मुलुक हुँदै उक्त सङ्ख्यामा पर्यटक नेपाल आएका हुन् ।
सन् २०२४ मा भने ११ लाख ४७ हजार ५४८ पर्यटक नेपाल भित्रिएका थिए । सन् २०२५ मा अघिल्लो वर्षको तुलनामा केही सङ्ख्या बढेको छ, जसमा छिमेकी मुलुक भारतबाट दुई लाख ९२ हजार ४३८, अमेरिकाबाट एक लाख १२ हजार ३१६, चीनबाट ५८ हजार ६८४, बेलायतबाट ५७ हजार ५४५, बंगलादेशबाट ४९ हजार ३५७, अष्ट्रेलियाबाट ३७ हजार ५५०, श्रीलंकाबाट ३० हजार २४३, थाइल्याण्डबाट ३० हजार २२७ र जर्मनीबाट २४ हजार ७६३ पर्यटक नेपाल घुम्न आएका नेपाल पर्यटन बोर्डले जनाएको छ ।
तथ्याङ्कअनुसार गत डिसेम्बरको एक महिनामा मात्र ९८ हजार १९० पर्यटक नेपाल आएका थिए । उक्त महिनामा छिमेकी मुलुक भारतबाट ३० हजार ९३, चीनबाट आठ हजार ६८०, अमेरिकाबाट छ हजार ६०५, बङ्गलादेशबाट चार हजार ९८०, अष्ट्रेलियाबाट चार हजार ४१९, थाइल्याण्डबाट चार हजार २३४, बेलायतबाट तीन हजार ७९३, म्यानमारबाट दुई हजार ७५८ र मलेसियाबाट दुई हजार ४२९ पर्यटक भित्रिएका छन् ।




