जलश्रोत/उर्जा

भारतबाट ६५४ मेगावाट विद्युत आयात अनुमति नवीकरण

काठमाडौँ । भारतले नेपाली पक्षलाई भारतीय इनर्जी एक्सचेन्ज (आइएक्स)मार्फत प्रतिस्पर्धी दरमा ६५४ मेगावाट विद्युत आयात गर्ने अनुमति नवीकरण गरेको छ।

भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले आइएक्सको डे–अहेड र रियल टाइम मार्केट (आरटिसी)बाट चौविसै घण्टा ६५४ मेगावाट विद्युत आयात गर्न अनुमति दिएको हो। यसअघि दिइएको अनुमतिको म्याद बुधबार सकिँदै थियो।

नेपाल विद्युत प्राधिकरणले ढल्केवर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइनमार्फत टनकपुर–महेन्द्रनगरबाट ५४ मेगावाट गरी कुल ६५४ मेगावाट विद्युत आयात गर्न अनुमति पाएको छ। यस अनुमतिले पुस १७ देखि चैत १७ (१ जनवरी–३१ मार्च २०२६) सम्मका लागि लागू हुने प्राधिकरणले जनाएको छ। १८ चैतदेखि १५ भदौ (१ अप्रिल–३१ अगस्ट २०२६) सम्मको नवीकरण पछि गरिने व्यवस्था रहेको छ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले मंगलबार विद्युत मन्त्रालयका अधिकारीलाई फोन गरेर आरटिसी मोडमा विद्युत आयात गर्न अनुमति नवीकरण गरिदिन आग्रह गरेका थिए।

मन्त्री घिसिङका अनुसार, आरटिसी मोडमा विद्युत आयात गर्न अनुमति पाउँदा हिउँदयाममा विद्युतको माग र आपूर्तिको व्यवस्थापन सहज हुने अपेक्षा गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *