काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पुस मसान्तभित्र पार्टीको विशेष महाधिवेशन आह्वान गर्ने बाटोमा पार्टी अघि बढेको बताएका छन्।
मेलमिलाप दिवसको अवसरमा शुभकामना सन्देश दिँदै महामन्त्री थापाले राष्ट्रप्रति दायित्व निर्वाह गर्न सक्ने कांग्रेस निर्माण गर्नु आजको प्रमुख जिम्मेवारी भएको उल्लेख गरे। उनले पार्टीलाई थप सुदृढ, उत्तरदायी र एकताबद्ध बनाउने उद्देश्यले विशेष महाधिवेशन आवश्यक रहेको बताए।
“राष्ट्रप्रतिको दायित्व निर्वाह गर्न सक्ने कांग्रेस बनाउनु आजको लागि प्रत्येक कांग्रेस कार्यकर्ताको युगीन जिम्मेवारी हो,” थापाले भनेका छन्, “यही जिम्मेवारी पूरा गर्न हामी पुस मसान्तभित्र विशेष महाधिवेशन आह्वान गर्ने बाटोमा अगाडि बढेका छौँ।”
महामन्त्री थापाले विशेष महाधिवेशन सफल बनाउन सम्पूर्ण कांग्रेस कार्यकर्तालाई एकताबद्ध भएर हातेमालो गर्न आह्वानसमेत गरेका छन्। उनका अनुसार पार्टीभित्रको एकता, आन्तरिक लोकतन्त्र र संगठन सुदृढीकरणका लागि विशेष महाधिवेशन महत्वपूर्ण हुने छ।
आजभन्दा ४९ वर्ष अगाडि विषम परिस्थितिमा ‘ राष्ट्रिय एकता र मेलमिलाप’ को आह्वान गरेर बीपी कोइराला, गणेशमान सिंह लगायतका नेताहरू नेपाल फर्किएको दिन !
राष्ट्रिय एकता र मेलमिलाप दिवस’ को ऐतिहासिक अवसरमा आम जनताको परिवर्तनको आकांक्षा स्वच्छ र स्वस्थ चुनावी प्रतिस्पर्धाका माध्यमबाट मुखरित हुन सकोस् भन्दै, एकले अर्कोलाई विरोध र निषेध होइन, राष्ट्र निर्माणको सामूहिक उत्तरदायित्व बोधको साथ अगाडि बढ्ने प्रेरणा हामी सबैलाई मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु।
नेपाली कांग्रेसले यही उत्तरदायित्व बोधका साथमा राष्ट्रिय भूमिका निर्वाह गर्न आत्मविश्वासको विन्दु खोजिरहेको छ। यो आत्मविश्वास हाम्रो एकताबाट नै आउँछ। अनि एकता के बाट आउँछ? निषेधबाट होइन, फरक विचारलाई बेवास्ता गरेर होइन – भिन्न मतहरू व्यक्त गर्ने साझा मञ्चको प्रयोगबाट मात्र त्यो एकताको उद्भव हुन्छ। त्यो भनेको आजको समयमा कांग्रेसको विशेष अधिवेशन नै हो। पौष मसान्त भित्र विशेष अधिवेशन गर्ने कार्य विधानतः बाध्यकारीमात्र नभएर पार्टीभित्रको एकता र आत्मविश्वासको लागि अनिवार्य बनेको छ।
राष्ट्र प्रतिको दायित्व निर्वाह गर्न सक्ने कांग्रेस बनाउनु नै आजको लागि प्रत्येक कांग्रेस कार्यकर्ताको युगिन जिम्मेवारी हो।अतः हामी यही जिम्मेवारी निर्वाह गर्न पुस मसान्त भित्र विशेष अधिवेशन आह्वान गर्ने बाटोमा अगाडि बढ्यौँ। सम्पूर्ण साथीहरूलाई दृढतापूर्वक यो मार्गमा हातेमालो गर्दै एकताबद्ध हुन आह्वान गर्दछु।पुनश्च: सबैलाई ४९ औँ राष्ट्रिय एकता र मेलमिलाप दिवसको शुभकामना।




