देश

कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारहरूको बन्दसूची

काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिक उम्मेदवारको बन्दसूची ढिलोगरी निर्वाचन आयोगमा बुझाएको छ । पार्टी सभापति शेरबहादुर देउवाको डिजिटल हस्ताक्षरलाई आयोगले मान्यता नदिएपछि सूची बुझाउन ढिलाइ भएको हो ।

मंगलबार बिहान आयोगमा बन्दसूची बुझाइएको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । उनले भने , “केही प्राविधिक विषय मिलाउनुपर्ने भएकाले ढिलाइ भयो । मंगलबार बिहान बन्दसूची बुझाएका छौँ ।”

निर्वाचन आयोगले दलहरूलाई पुस १३ र १४ गते समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन समय दिएको थियो । आयोगले तोकेको समयभित्र शुल्क तिरेर भौचर काटिएको भए पनि कांग्रेसले मंगलबार बिहान मात्रै सूची बुझाएको हो ।

प्रचार विभाग प्रमुख मीन विश्वकर्मा सोमबार दिउँसो सूची बुझाउन आयोग पुगेका थिए । तर सूचीमा समेटिएका नाम हेरफेर र प्राविधिक विषय मिलाउँदा ढिलाइ भएको प्रवक्ता महतले जानकारी दिए ।

सभापति देउवाको डिजिटल हस्ताक्षरलाई आयोगले मान्यता नदिएपछि मंगलबार बिहान मुख्य सचिव कृष्णप्रसाद पौडेल महाराजगञ्जस्थित देउवा निवास पुगेर हस्ताक्षर गराएका थिए । हस्ताक्षर भएपछि सूची आयोगमा बुझाइएको हो ।

कांग्रेसले २०६४ यता समानुपातिकबाट सांसद बनेकालाई यसपटक सूचीमा नराखेको जनाएको छ । पार्टीका अनुसार सूचीमा ५ प्रतिशतभन्दा बढी जेन–जी पुस्ताको प्रतिनिधित्व छ । उम्मेदवार छनोटमा संस्थापन पक्षलाई ६० र इतर पक्षलाई ४० प्रतिशत भागबन्डा मिलाइएको छ ।

समानुपातिकतर्फको १ सय १० सिटलाई प्रादेशिक जनसंख्याको अनुपातमा बाँड्दै कोसीबाट १८, मधेश २१, बागमती २२, गण्डकी ११, लुम्बिनी १७, कर्णाली १० र सुदूरपश्चिमबाट १० जना उम्मेदवार राखिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *