काठमाडौं । नेपाली कांग्रेसले समानुपातिक उम्मेदवारहरूको बन्दसूची आज बिहानसम्म पनि निर्वाचन आयोगमा बुझाउन सकेको छैन ।
पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले नामावली बुझाउन नसकेको पुष्टि गर्दै भने, “अहिले हामी निर्वाचन आयोगभन्दा बाहिर छौं, काम भइरहेको छ ।”
निर्वाचन आयोगले समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन पुस १३ र १४ गते (आइतबार र सोमबार) समय तोकेको थियो । सोहीअनुसार रातभर नामावली बुझाउने प्रयास भए पनि प्रक्रिया पूरा हुन सकेन ।
सुरुमा नेता मीन विश्वकर्मा र मुख्य सचिव पौडेल नामावलीसहित आयोग पुगेका थिए । मंगलबार बिहान करिब ४ बजेतिर महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री जीवन परियार पनि आयोग पुगे ।
तर मुख्य सचिव पौडेल र परियारले बोकेको फाइलमा पार्टी सभापति शेरबहादुर देउवाको हस्ताक्षर नभएको पाएपछि आयोगका कर्मचारीले नामावली बुझ्न मानेनन् । त्यसपछि महामन्त्री शर्माले हस्ताक्षर गराउन पौडेल र विश्वकर्मालाई देउवा निवास महाराजगञ्ज पठाएका थिए ।
समाचार तयार पार्दासम्म उनीहरू आयोगको कार्यालय फर्किएका छैनन् । मुख्य सचिव पौडेलले पुनः भने, “अहिले टुंग्याउने काम भइरहेको छ ।”
यद्यपि आयोगका एक कर्मचारीका अनुसार कांग्रेसले पहिल्यै निवेदन दर्ता गरिसकेको र सनाखतसमेत गराइसकेकाले आज पनि बन्दसूची बुझाउन सकिने अवस्था छ ।




