काठमडाौं । प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामाको माग राख्दै माइतीघर मण्डलामा आमरण अनसनमा रहेका डा. निकोलस भुसालको स्वास्थ्य अवस्था चिन्ताजनक बन्दै गएको छ। नेपाल चिकित्सक संघले उनको जीवन जोखिममा पर्न थालेको भन्दै सरकारलाई तत्काल आवश्यक कदम चाल्न आग्रह गरेको छ।
संघले शुक्रबार जारी गरेको विज्ञप्तिमा अनसनको अवधि लम्बिँदै जाँदा डा. भुसालमा रिङ्गटा लाग्ने, शरीर सुन्निने लगायतका जटिल स्वास्थ्य समस्या देखिन थालेको उल्लेख गरिएको छ। डा. भुसाल पुस ८ गतेदेखि निरन्तर आमरण अनसनमा छन्।
विज्ञप्तिमा सरकारको बेवास्ताका कारण स्वास्थ्य अवस्था थप बिग्रँदै गएको उल्लेख गर्दै संघले यसप्रति गम्भीर ध्यान दिनुपर्ने आवश्यकता औंल्याएको छ। “प्रत्येक नेपाली नागरिकलाई स्वस्थ रूपमा बाँच्न पाउने मौलिक अधिकार छ,” विज्ञप्तिमा भनिएको छ, “डा. भुसालको जीवन रक्षा गर्न सरकार अविलम्ब जिम्मेवार भूमिका निर्वाह गर्नुपर्छ।”
नेपाल चिकित्सक संघले मानवीय दृष्टिकोणबाट तत्काल पहल नलिए अवस्था अझ गम्भीर हुन सक्ने चेतावनीसमेत दिएको छ।




