देश

सार्वजनिक खरिदमा कडाइ : पूर्वराज्यमन्त्री कान्छाराम तामाङको कम्पनीसहित पाँच ठेकेदार कालोसूचीमा

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले सम्झौता उल्लंघन र कार्यसम्पादनमा लापरबाही देखिएको भन्दै पाँच ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ। कारबाहीमा पर्ने कम्पनीहरूमा पूर्वऊर्जा राज्यमन्त्री तथा नेपाली कांग्रेसका नेता कान्छाराम तामाङको स्वामित्व रहेको कान्छाराम कन्स्ट्रक्सन पनि समावेश छ।

कार्यालयका अनुसार ललितपुरस्थित ग्रामीण सडक सञ्जाल सुधार आयोजनामा संलग्न चिनियाँ निर्माण कम्पनी चोङचिङ इन्टरनेशनल कन्स्ट्रक्सन कर्पोरेसन र कान्छाराम कन्स्ट्रक्सनलाई एक वर्ष ६ महिनाका लागि कालोसूचीमा राखिएको हो।

यसैगरी, नेपाल खानेपानी संस्थान पोखरामा निर्माण कार्य गरिरहेको ड्रैगन कन्स्ट्रक्सन प्रालि पनि समान अवधिका लागि कालोसूचीमा परेको छ। धनुषाका बैजनाथ यादव सञ्चालक रहेको उक्त कम्पनीले तोकिएको मापदण्ड पूरा नगरेको भन्दै कारबाही गरिएको कार्यालयले जनाएको छ।

उदयपुरको रौतामाई गाउँपालिकाको ठेक्कामा संयुक्त रूपमा काम गरिरहेका धनुषाको सिङडन सप्लायर्स एण्ड कन्स्ट्रक्सन र सिन्धुपाल्चोकको विशाल निर्माण सेवालाई भने एक वर्षका लागि कालोसूचीमा राखिएको छ।

कालोसूचीमा परेका यी सबै कम्पनीहरूले तोकिएको अवधिभर संघ, प्रदेश र स्थानीय तहका कुनै पनि सार्वजनिक निकायबाट नयाँ ठेक्का लिन वा बोलपत्र प्रक्रियामा सहभागी हुन नपाउने सार्वजनिक खरिद अनुगमन कार्यालयले स्पष्ट गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *