राजनीति

आन्तरिक विवादले रास्वपामा उब्जायो असन्तोष

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा समानुपातिक उम्मेदवार छनोटलाई लिएर विवाद चर्किएको छ। सहमहामन्त्री तथा उम्मेदवार छनोट समितिका संयोजक विपिनकुमार आचार्यले आफूलाई समानुपातिक कोटामा राख्न खोज्दा पार्टी भित्र असन्तुष्टि बढेको हो।

पार्टी भित्रको प्रारम्भिक मतदानको क्रममा केही आकांक्षीले आचार्यको कदममाथि आपत्ति जनाएका छन्। उम्मेदवार छनोट कार्यशालामा सहभागी एक आकांक्षीले भने, “उहाँ आफैं संयोजक हुनुहुन्छ, आफैं प्रश्न बनाउनुहुन्छ, आफैं उत्तर दिनुहुन्छ। यसरी प्रक्रिया चलाउनु विधिविपरित छ।” उनले थपे, “तामास देखाउने झन्झट छैन, सिधै आफू र आफ्नो नजिकका मान्छेको नाम सूचीमा राख्ने तयारी भएको छ।”

उक्त आकांक्षीले आचार्यले केन्द्रीय सदस्य क्रान्तिशिखा धिताललाई पनि समानुपातिक उम्मेदवार बनाउने दबाब दिइरहेको आरोप लगाए। उनका अनुसार, “पहिले मुकुल ढकालले जसरी निशा डाँगी र चन्दा कार्कीलाई समानुपातिकमा राखेका थिए, अहिले आचार्यले पनि धिताललाई च्याप्ने प्रयास गरिरहेका छन्। बाहिर जे भए पनि हामीलाई मतलब छैन, तर पार्टीभित्र एउटै व्यक्तिका लागि यस्तो बल प्रयोग किन?”

पार्टी भित्रका अन्य नेताहरूले पनि बाहिर चुनाव प्रक्रिया सुचारु देखिए पनि आन्तरिक रूपमा निर्णय पहिले नै तय गरिएको भन्ने आरोप लगाएका छन्। २०७९ को निर्वाचनमा निशा डाँगी र चन्दा कार्की तत्कालीन महामन्त्री मुकुल ढकालको प्रभावमा समानुपातिक सांसद बनेको चर्चा गरिएको थियो। यसपालि पनि सहमहामन्त्री आचार्यले केही उम्मेदवारलाई सूचीमा राख्ने तयारी गरेको भनिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *