काठमाडौं । नेपाली कांग्रेससँग आबद्ध नेपाल स्वास्थ्यकर्मी संघ आन्तरिक विवादका कारण तीन समूहमा विभाजन भएको छ। नेतृत्वको वैधानिकता, सदस्यता र महाधिवेशन प्रक्रियालाई लिएर देखिएको मतभेदले संघको गतिविधि प्रभावित बनेको छ। सरकारी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको एउटा समूहले हालै रुपन्देहीमा अधिवेशन आयोजना गर्दै दीपक भट्टलाई अध्यक्ष चयन गरेको छ। तर भट्ट हाल सरकारी सेवामा नरही अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको परियोजनामा कार्यरत छन्। संघकी कार्यवाहक अध्यक्ष रमिला चौलागाईंको अनुपस्थितिमा सम्पन्न उक्त अधिवेशनप्रति चौलागाईं पक्षले वैधानिकता नहुने दाबी गर्दै आएको छ।
संघको विधानअनुसार सबै जिल्लामा अधिवेशन सम्पन्न गरी महाधिवेशन गर्नुपर्ने व्यवस्था छ। तर करिब २५ जिल्लामा मात्र औपचारिकता पूरा गरिएको भन्दै भट्ट समूहले गरेको महाधिवेशन प्रक्रियामाथि प्रश्न उठाइएको छ। कार्यवाहक अध्यक्ष चौलागाईं धरानमा अध्ययनरत रहेकाले कार्यक्रममा सहभागी हुन नसकेको बताइएको छ। उनले आगामी वैशाखमा विधिसम्मत महाधिवेशन गर्ने घोषणा गरेकी छन्।
नेपाल स्वास्थ्यकर्मी संघ श्रम विभागमा दर्ता भए पनि २०७९ सालयता नवीकरण हुन सकेको छैन। नवीकरणका लागि आवश्यक पाँच हजार सदस्यको हस्ताक्षर जुटाउन कठिनाइ देखिएको छ। स्वास्थ्य मन्त्रालयअन्तर्गत हाल करिब तीन हजार कर्मचारी मात्र रहेकाले नवीकरण प्रक्रिया थप जटिल बनेको छ। संघभित्र विवाद चर्किँदै गएपछि अधिवेशन उद्घाटनका लागि कांग्रेसका शीर्ष नेताको उपस्थिति जुटाउन समेत कठिन भएको थियो। कार्यवाहक सभापति पूर्ण खड्का, गगन थापा, धनराज गुरुङ र प्रदीप पौडेललाई निमन्त्रणा गरिए पनि उनीहरू विवादका कारण कार्यक्रममा सहभागी भएनन्। अन्ततः भैरहवामा रहेका भरतकुमार शाहबाट अधिवेशन उद्घाटन गराइएको थियो।
यस्तै, लामो समय संघको नेतृत्व गरेका पूर्वअध्यक्ष रामजी घिमिरेले सरकारी जागिरबाट राजीनामा दिएपछि निजी अस्पतालमा कार्यरत कर्मचारीहरूलाई समेटेर छुट्टै संघ गठन गरेका छन्। अन्तर्राष्ट्रिय संस्थाबाट आउने आर्थिक सहयोगलाई लिएर संघ विभाजन भएको आरोपसमेत लाग्दै आएको छ। सरकारी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूको आधिकारिक संघको जिम्मेवारी हाल कार्यवाहक अध्यक्ष रमिला चौलागाईंको समूहसँग रहेको दाबी गरिएको छ। चौलागाईं समूहले नेपाली कांग्रेसको महाधिवेशन सम्पन्न भएपछि मात्र संघको महाधिवेशन गर्ने तयारी रहेको जनाएको छ।




