प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना आजै बिदा हुँदै
काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना आज आफ्नो कार्यकाल पूरा गर्दै बिदा हुने भएका छन्। सभामुख घिमिरेले आजै सरकारी निवास छोड्ने तयारी पनि गरेका छन्।
संसद् पुनर्स्थापनासम्बन्धी मुद्दा अदालतमा पुगेकाले यसबारे जवाफ दिनुपर्ने भएकाले घिमिरे सार्वजनिक घोषणा नगरी बिदा हुन लागेका हुन्। संविधानअनुसार प्रतिनिधि सभा विघटन भएको अवस्थामा सभामुख र उपसभामुख आफ्नो पदमा बहाल रहन्छन् र अर्को प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दिने अघिल्लो दिनसम्म पदमा रहन सक्ने प्रावधान छ।
फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ। सो निर्वाचनका लागि आज र भोलि निर्वाचन आयोगमा समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची बुझाइँदैछ।
सभामुख घिमिरे २०७९ माघ ५ गते निर्वाचित भएका थिए। उनी एमालेबाट झापा–२ बाट प्रतिनिधि सभा सदस्य बनेका हुन्। उपसभामुख इन्दिरा राना मगर २०७९ माघ ७ गते निर्वाचित भएकी थिइन्।




