काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीकी नेतृ पम्फा भुसालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेकी छन्।
आइतबार सामाजिक सञ्जालमार्फत सार्वजनिक निर्णयअनुसार भुसालले प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचनमा उम्मेदवारी नदिने स्पष्ट पारेकी हुन्। उनले आफूले यसअघि दुई पटक प्रत्यक्ष निर्वाचन जितिसकेको र पटक–पटक मन्त्रीको जिम्मेवारी सम्हाल्ने अवसर पाएको उल्लेख गर्दै अब त्यो अनुभव पार्टीभित्र संस्थागत रूपमा प्रयोग गर्नुपर्ने निष्कर्षमा पुगेको बताइन्।
उनले लेखेकी छन्, “यसपटक म प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचनमा उम्मेदवार नबन्ने निर्णयमा पुगेकी छु। अबसम्म आर्जन गरेको राजनीतिक अनुभव र सिकाइलाई पार्टी संगठन सुदृढीकरणमा लगानी गर्न आवश्यक ठानेकी छु।”
भुसालले आगामी निर्वाचनमा पार्टीले अघि सारेका उम्मेदवारहरूलाई जिताउन आफू सक्रिय रूपमा लाग्ने पनि प्रतिबद्धता व्यक्त गरेकी छन्।




