काठमाडौँ । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टी आन्तरिक रूपमा सुध्रिन नसके चारैतिरबाट चुनौतीहरू सामना गर्नुपर्ने चेतावनी दिएका छन्। तर, सुधारसहित जनतामाझ जान सके काँग्रेसलाई कसैको सहारामा उभिनुपर्ने अवस्था नरहेको उनको भनाइ छ।
आइतबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता केसीले काँग्रेसको संगठन गाउँ–गाउँसम्म फैलिएको उल्लेख गर्दै इतिहासमा गरेको योगदान र अब सुधारको स्पष्ट एजेन्डासहित अघि बढे कुनै पनि शक्तिसँग डराउनुपर्ने अवस्था नहुने बताए।
उनले भने, “हामी सुध्रिएनौँ भने चारैतिर चुनौती नै चुनौती छ। तर, सुध्रिएर जनतामाझ गयौँ भने काँग्रेसलाई कसैको वैशाखी टेक्नुपर्दैन। काँग्रेस आफैँ लोकतन्त्रको संरक्षक र संवाहक हो।”
यसैबीच, काँग्रेस नेता रामनाथ अधिकारीले पुस महिनाभित्र केन्द्रीय महाधिवेशन सम्पन्न गरिनुपर्ने भए पनि क्रियाशील सदस्यताका कारण केही समय सर्न सक्ने अवस्था देखिएको बताए। उनले क्रियाशील सदस्यता छिटो टुंग्याएर महाधिवेशन प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिए।
“पुसभित्र महाधिवेशन हुनुपर्ने हो। तर, क्रियाशील सदस्यताका कारण समय हेरफेर हुन सक्छ। दुई दिनभित्र सदस्यता टुंग्याएर जिल्लामा पठाउन सके वडा तहबाट महाधिवेशन प्रक्रिया पूरा हुन्छ,” उनले भने।
नेता अधिकारीले आगामी निर्वाचन नलड्ने घोषणा गरिसके पनि पार्टी राजनीतिमा आफू सक्रिय रहने स्पष्ट पारे। बदलिँदो राजनीतिक परिस्थितिअनुसार पार्टीले पनि नयाँ ढङ्गले निर्णय लिने विश्वास व्यक्त गर्दै त्यसका लागि आफूले जोडबल गर्ने बताए।




