काठमाडौं । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साह र समुन्नत नेपाल पार्टीका अध्यक्ष सर्वेन्द्र खनालसहित करिब डेढ दर्जन राजनीतिक दल तथा अभियानबीच सहकार्यको पहल सुरु भएको छ।
शनिबार काठमाडौंमा भएको भेलाले आगामी फागुन २१ गतेको निर्वाचनमा संयुक्त रूपमा जाने सहमति गर्दै दलहरूबीच समन्वयको जिम्मा पत्रकार ऋषि धमलालाई दिएको छ।
जेन–जी आन्दोलनपछि गठन भएका दल र केही पुराना दलबीच चुनावी सहकार्यबारे छलफल भएको हो। भेलामा सकेसम्म समानुपातिक प्रणालीतर्फ सबै दललाई समेट्ने र प्रत्यक्षतर्फ १६५ वटै निर्वाचन क्षेत्रमा तालमेल गर्ने समझदारी बनेको बताइएको छ।
समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची सबै पक्षलाई समेटेर पेस गर्ने र प्रत्यक्ष निर्वाचनका लागि कार्यदल गठन गर्ने सहमति पनि भएको छ।
छलफलमा प्रभु साह, सर्वेन्द्र खनाल, रमण कुमार कर्ण, नवराज सुवेदी, माधव खतिवडा, गोविन्द गिरी, अशोक कुमार मण्डल, सुनिलबाबु पन्त, डा. घनश्याम सिंह गुरुङ, गणेशकुमार मण्डल, डा. सुन्दर सिंह बोहोरा, टेकबहादुर विश्वकर्मालगायत नेताहरू सहभागी थिए।




