देश

कांग्रेसको सदस्यता नवीकरण अभियान तीव्र, ७५ प्रतिशत प्रक्रिया सम्पन्न

काठमाडौं । नेपाली कांग्रेसले देशभर सञ्चालन गरेको क्रियाशील सदस्यता नवीकरण अभियान उल्लेखनीय चरणमा पुगेको जनाएको छ। पार्टीका अनुसार हालसम्म ६ लाख ६६ हजारभन्दा बढी सदस्यले आफ्नो सदस्यता नवीकरण गरिसकेका छन्। सदस्यता व्यवस्थापन समितिका सदस्य प्रकाश रसाइली ‘स्नेही’ले बिहीबार सम्पन्न बैठकपछि नवीकरण प्रक्रिया करिब ७५ प्रतिशत पूरा भइसकेको जानकारी दिए। कांग्रेसमा कुल ८ लाख ८९ हजार क्रियाशील सदस्य रहेको पार्टीको तथ्यांक छ।

रसाइलीका अनुसार केही स्थानमा देखिएका विवाद र छुटपुट दर्ताका विषयहरू आन्तरिक छलफलमार्फत समाधान गर्ने निर्णय गरिएको छ। प्रवासअन्तर्गत जनसम्पर्क समितिमा पर्ने ओमान, यूएई र साउदी अरबका क्रियाशील सदस्यतासम्बन्धी विषय पनि टुंगो लागिसकेको उनले बताए।

त्यस्तै, विवाद देखिएका सुर्खेत, काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ र पर्सामा सदस्यता नवीकरण फारम पठाई केन्द्रमै नवीकरण गर्ने व्यवस्था मिलाइएको छ। यसैबीच जनता समाजवादी पार्टीबाट नेपाली कांग्रेस प्रवेश गरेका सहसराम यादवलाई कपिलवस्तु जिल्लाका लागि ५७५ वटा क्रियाशील सदस्यता नवीकरण फारम उपलब्ध गराउने निर्णयसमेत गरिएको छ।

पार्टी नेतृत्वले निर्धारित समयमै सदस्यता नवीकरण प्रक्रिया टुंग्याएर संगठनात्मक गतिविधि थप सक्रिय बनाउने लक्ष्य लिएको जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *