काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गर्दै पार्टीभित्र नयाँ पुस्तालाई अवसर दिनुपर्ने धारणा सार्वजनिक गरेका छन्। उनले यसपटक आफू चुनावी प्रतिस्पर्धामा नभई देशभर कांग्रेसका उम्मेदवारहरूको पक्षमा अभियान चलाउने स्पष्ट पारेका छन्।
बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा शर्माले निर्वाचन नलड्ने निर्णय सुनाउँदै नेपाली राजनीतिमा गहिरिँदै गएको ‘सधैं उम्मेदवार बन्नैपर्ने’ प्रवृत्तिको खुलेर आलोचना गरे। “जिते पनि, हारे पनि क्षेत्र नछाड्ने र सास रहेसम्म पदमै रहिरहने सोचले राजनीतिलाई बन्धक बनाएको छ,” उनले बैठकमा भने। उनले जीवनभर एउटै क्षेत्र कब्जा गर्ने मानसिकता र निरन्तर मन्त्री बन्ने आकांक्षाले लोकतान्त्रिक अभ्यास कमजोर बनाएको उल्लेख गर्दै अब यस्तो संस्कार तोड्न आवश्यक रहेको बताए।
शर्माले आफू लगातार तीन पटक उम्मेदवार भइसकेकाले यसपटक नयाँ अनुहारलाई अघि सार्ने निर्णय गरेको जानकारी गराए। “मैले मेरो क्षेत्रमा साथीहरूलाई अघि बढ्न आग्रह गरिसकेको छु,” उनले भने, “अब म उम्मेदवार होइन, सहयोगी भूमिकामा रहनेछु।” गत निर्वाचनमा आफ्नै क्षेत्रमा केन्द्रित रहेको अनुभव सुनाउँदै शर्माले यसपटक भने देशव्यापी रूपमा कांग्रेसका उम्मेदवारसँगै जनतामाझ पुग्ने योजना रहेको बताए।
उनले पार्टीलाई चुनावमा ‘अनुहार परिवर्तन’ गरेर जान सुझाव पनि दिए। “युवाहरू र नयाँ साथीहरूलाई अवसर दिनुपर्छ, पुरानै अनुहारले मात्रै चुनाव जितिन्छ भन्ने सोच बदल्नुपर्छ,” शर्माको भनाइ थियो। यसअघि कांग्रेसले शर्मालाई झापा–१ बाट सर्वसम्मत उम्मेदवारका रूपमा सिफारिस गरेको थियो। तर उनले सिफारिसप्रति आभार व्यक्त गर्दै पनि उम्मेदवार नबन्ने निर्णय कायम राखेका छन्। उनले झापामा आयोजित क्षेत्रीय भेलामै इच्छुक नेताहरूलाई उम्मेदवारीका लागि दाबी गर्न आग्रह गरिसकेको जानकारी पनि बैठकमा गराए।
विश्वप्रकाश शर्माको यो निर्णयलाई कांग्रेसभित्र ‘त्याग र पुस्तान्तरणको संकेत’का रूपमा हेरिएको छ।




