काठमाडौं । युवा नेता जीवन कार्की नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा निर्वाचित भएका छन् । जनकपुरधाममा हालै सम्पन्न नेपाल जेसिजको राष्ट्रिय महाधिवेशनबाट रामेछाप जेसिजका युवा नेता कार्की अध्यक्षमा निर्वाचित भएका हुन् । उनले निर्वाचनमा ५१२ मत ल्याएका थिए ।
चार जना उम्मेदवारबीच भएको प्रतिस्पर्धात्मक निर्वाचनमा कार्की बहुमतसहित विजयी भएका हुन्। १८ देखि ४० वर्ष उमेर समूहका युवाहरूलाई नेतृत्व, उद्यमशीलता र सामाजिक रूपान्तरणतर्फ अग्रसर गराउँदै आएको नेपाल जेसिज आन्दोलनको नेतृत्व अब कार्कीको काँधमा आएको छ।
साधारण पारिवारिक पृष्ठभूमिबाट उठेर सफल व्यवसायीका रूपमा स्थापित कार्कीले नेपाल तथा अन्तर्राष्ट्रिय तहका विभिन्न तालिम र एकेडेमीमा सहभागिता जनाउँदै नेतृत्व विकासमा आफूलाई सशक्त बनाउँदै आएका छन्। विगतमा सम्हालेका जिम्मेवारीहरूमा उनले कठिन परिस्थितिमा समेत आफूलाई कुशल नेतृत्व र व्यवस्थापन क्षमता प्रमाणित गरिसकेका छन्।
कार्कीले वर्ष २०२६ का लागि ‘एम एक्ट एचिभ’ लाई मुख्य कार्यदिशाका रूपमा अघि सारेका छन्। लक्ष्यबिनाको सक्रियताबाट उपलब्धि सम्भव नहुने उल्लेख गर्दै उनले योजनाबद्ध कार्यान्वयन र ठोस परिणाममा केन्द्रित नेतृत्व प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। कार्की नेतृत्वको प्रमुख कार्यक्रम प्रोजेक्ट संकल्प २०२६ रहेको छ । जसको मूल उद्देश्य एकताको संकल्प र रूपान्तरणको यात्रा हो। सो परियोजनामार्फत नेपाल जेसिज अभियानलाई समाजमा अझ प्रभावकारी र दिगो बनाउने लक्ष्य राखिएको कार्कीले बताएका छन् ।
निर्णय प्रक्रिया अनुमानमा होइन, डाटामा आधारित प्रणालीमार्फत अघि बढाइने उनको भनाइ छ । सदस्य केन्द्रित सेवाका लागि हेलो प्लेटफर्म सञ्चालन गरिने र जसबाट सदस्यका गुनासा, सुझाव र आवश्यकता सिधै सुन्ने र समाधानतर्फ अघि बढ्ने व्यवस्था गरिने कार्कीले बताए। कार्की नेतृत्वको नयाँ कार्यसमितिबाट युवामैत्री, प्रविधिमैत्री र परिणाममुखी अभियान अझ सशक्त बन्ने अपेक्षा गरिएको छ।






