काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) पछिल्लो समय केवल महानगरका प्रशासकमा सीमित छैनन्। उनी अहिले राष्ट्रिय राजनीतिमा नयाँ शक्ति निर्माणका सम्भावित केन्द्र बन्दै गइरहेका छन्। ललितपुरको ज्वागलस्थित उनका निकट सहयोगी कुमार बेनको निवासमा एकै दिन भएको असामान्य र व्यापक भेटघाटले यही संकेत दिएको छ।
यो भेटघाट सामान्य राजनीतिक शिष्टाचार वा चियापान कार्यक्रम थिएन। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेदेखि उज्यालो नेपालका संरक्षक कुलमान घिसिङ, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, निवर्तमान सांसद अमरेश कुमार सिंह, जेन–जी अभियन्ता, कलाकार, सञ्चारकर्मी, चिकित्सक र पूर्वप्रशासकसम्मको सहभागिताले यो गोप्य राजनीतिक परामर्श केन्द्र बनेको देखिन्छ।
विहिबार मात्र रास्वपा सभापति रवि लामिछानेसँग पनि तीन घण्टाभन्दा बढी समय छलफल भएको थियो। भेटपछि लामिछानेले स्पष्ट जानकारी नदिए पनि “मेरो अनुहार हेरेर के लाग्छ?” भनेर प्रतिक्रिया दिएका थिए।
निवर्तमान स्वतन्त्र सांसद अमरेश कुमार सिंहले पनि भेटघाटमा भाग लिएका थिए र बालेन–लामिछानेको सम्भावित सहकार्यको दाबी गरेका थिए। त्यस्तै, हाम्रो पार्टी नेपालका अध्यक्ष खगेन्द्र सुनार र डा. बाबुराम भट्टराईले पनि बालेनसँग भेटवार्ता गरेका छन्।
आजै बिहान काँग्रेस नेता सुनिल कुमार शर्मा, जेनजी अभियन्ता सागर ढकाल, रक्षा बम लगायतले बालेनसँग छलफल गरेका थिए। उर्जामन्त्री कुलमान घिसिङसँगको भेटपछि कुलमानले उज्यालो पार्टीको केन्द्रीय कार्यालय उद्घाटन गर्दै आगामी निर्वाचनमा नयाँ शक्ति एक ठाउमा आउने दाबी गरेका छन्।
बालेनले सक्रिय राजनीतिमा प्रवेश गर्ने निश्चय गरेसँगै बुधबार राप्रपा नेता ज्ञानेन्द्र शाही, नाउपाका संरक्षक रेशम चौधरी, डा. भगवान कोइरालासहित दर्जनभर स्वतन्त्र नेता र व्यक्तिसँग छलफल गरेका थिए।
उनका निकट स्रोतका अनुसार, बालेन सकेसम्म सबै नयाँ शक्तिलाई एक ठाउमा ल्याउने प्रयासमा छन्। यदि सम्भव भएन भने, आफ्ना शुभचिन्तकहरूले दर्ता गरेको देश विकास पार्टीबाट चुनावमा जाने तयारी गर्ने योजना रहेको छ।
आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा वैकल्पिक भनिएका शक्तिहरू आ–आफ्नै टापुमा सीमित रहँदा परम्परागत दललाई चुनौती दिन नसकिने निष्कर्षमा बालेन पुगेको देखिन्छ। त्यसैले यो भेटघाट ‘नेटवर्क निर्माण’ मात्र होइन, संभावित एकताको पहिलो परीक्षण चरण हो।
बाबुराम भट्टराई, सीके राउत र ज्ञानेन्द्र शाहीजस्ता वैचारिक रूपमा भिन्न पात्रहरूको एउटै छलफलमा उपस्थिति नेपाली राजनीतिमा असामान्य दृश्य हो। यसले देखाउँछ—अब बहस वाम–दक्षिण, संघीय–एकात्मक वा पहिचान–राष्ट्रवादमा सीमित छैन। राजनीतिक रेखा स्पष्ट रूपमा पुरानो व्यवस्था बनाम नयाँ राजनीतिक संस्कारतर्फ सरेको छ।
सुशासन, जवाफदेहिता, रोजगारी, राज्यको कार्यशैली र भ्रष्टाचारविरुद्धको लडाइँ— यी साझा न्यूनतम एजेन्डामा सहमति खोज्ने प्रयास ज्वागलमा भएको देखिन्छ।




