देश

मन्त्री घिसिङ र मेयर बालेनबीच भेटवार्ता, वैकल्पिक राजनीतिक सहकार्यबारे छलफल

काठमाडौँ। भौतिक, ऊर्जा तथा शहरी विकास मन्त्री कुलमान घिसिङ र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) बीच भेटवार्ता भएको छ। ललितपुरको ज्वागलस्थित मेयर शाहका सल्लाहकार कुमार बेनको निवासमा उनीहरूबीच छलफल भएको हो।

स्रोतका अनुसार उज्यालो नेपाल पार्टीका संरक्षक घिसिङ र मेयर शाहबीच आगामी निर्वाचनमा कसरी अघि बढ्ने भन्ने विषयमा केन्द्रित रहेर संवाद भएको छ। भेटवार्तामा वैकल्पिक राजनीतिक शक्तिहरूबीच सहकार्यको सम्भावनाबारे विचारविमर्श भएको बुझिएको छ।

घिसिङसँगको भेटपछि मेयर शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेट्न निस्किएको स्रोतले जनाएको छ। उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य अभिषेक सिंहले वैकल्पिक शक्तिहरू मिलेर अघि बढ्ने विषयमा निरन्तर छलफल भइरहेको र केही दिनभित्रै ठोस निष्कर्षमा पुग्ने बताए।

यसअघि पनि कुलमान घिसिङ र मेयर शाहबीच भेटवार्ता भइसकेको थियो। १४ मंसिरमा उज्यालो नेपाल पार्टी घोषणा गर्दै सक्रिय राजनीतिमा प्रवेश गरेलगत्तै घिसिङले मेयर शाहसँगको भेटको तस्बिर सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका थिए। सो अवसरमा उनले, “देश बनाउने अभियानमा हामी सँगै छौँ,” भन्दै सहकार्यको संकेत गरेका थिए।

पछिल्लो भेटवार्ताले वैकल्पिक राजनीतिक धार निर्माणतर्फ नयाँ राजनीतिक समीकरणको सम्भावना थप बलियो बनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *