राजनीति

विभिन्न समुदायका पर्वले मेलमिलापको वातावरण बनाएका छन् : कावा सभापति खड्का

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेपालका चाडपर्वहरूले समुदायबीचको आपसी प्रेम, सद्भाव र भाइचारालाई प्रगाढ बनाउँदै आएको बताएका छन् ।

इसाई धर्मावलम्बीहरूको महान् पर्व ‘क्रिसमस डे’ का अवसरमा बिहीबार शुभकामना सन्देश जारी गर्दै खड्काले नेपालको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषतालाई राष्ट्रिय एकताको सूत्रमा बाँध्न यस्ता पर्वहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गरे ।

आफ्नो सन्देशमा कार्यवाहक सभापति खड्काले भनेका छन्, ‘नेपाल विविधताले भरिपूर्ण मुलुक हो । यहाँ मनाइने हरेक चाडपर्व र संस्कृतिप्रति एक-अर्काले देखाउने सम्मान र आदरभाव नै हाम्रो सामाजिक एकताको आधार हो । यो मौलिक परम्पराले हामीलाई सधैं एकताबद्ध बनाइराखेको छ ।’

उनले क्रिसमसको यस पावन अवसरले मुलुकमा सुख, शान्ति र समृद्धिको ढोका खोल्दै सबै नेपालीमा सामाजिक सद्भाव कायम राख्न थप प्रेरणा मिलोस् भन्ने कामना समेत गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *