मुख्य समाचार

क्यासिनोमा हाई–टेक ठगीको पर्दाफास : तासमा चिप र आँखाको लेन्स प्रयोग गरी लाखौँ ठगी

काठमाडौं । राजधानीको ठमेलस्थित एक क्यासिनोमा अत्याधुनिक प्रविधि प्रयोग गरेर ठगी गरिएको घटनाको खुलासा भएको छ। तास खेल्ने क्रममा कार्डमा चिप जडान गर्ने र आँखामा विशेष किसिमको लेन्स लगाएर खेलको नतिजा पहिल्यै थाहा पाउने गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी परिसर, काठमाडौंले बुधबार पत्रकार सम्मेलनमार्फत घटनाबारे जानकारी दिँदै पक्राउ परेकालाई सार्वजनिक गरेको छ। प्रहरीका अनुसार ठमेलको छाया सेन्टरमा रहेको वाल्डो क्यासिनोमा इभेन्टकै रूपमा जुवा खेल आयोजना गरी योजनाबद्ध ढंगले ठगी गरिएको थियो।

यस प्रकरणमा सुरेश माहाजन, दिनेश बर्मा, विक्रम सिंह, प्रमोद मौर्य, चिजा खड्का र भवानी पाण्डे पक्राउ परेका छन्। उनीहरूले तासमा विशेष चिप राख्ने र आँखामा लगाइने लेन्समार्फत कार्डको जानकारी लिने गरेको प्रहरीको दाबी छ। यता, क्यासिनो सञ्चालक विनोद भन्ने जनार्दन उप्रेतीसहित गौरव खत्री, मोनु भन्ने निरजकुमार, हीरा शेखर मल्ली पुरी, कमल खरबन्दा र मुकेश भने फरार रहेका छन्। एसपी पवनकुमार भट्टराईका अनुसार फरार अभियुक्तको खोजी तीव्र पारिएको छ।

प्रहरीले यस घटनाले क्यासिनो क्षेत्रमा प्रविधिको दुरुपयोग बढ्दै गएको संकेत गर्ने भन्दै थप अनुसन्धान भइरहेको जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *