मनोरञ्जन

सौन्दर्य र वेलनेस उद्योग : पुस ११ देखि १३ गतेसम्म काठमाडौँमा ‘कस्मेटिका २०२५ संचालन हुने

काठमाडौं । नेपालमा तीव्र रूपमा विस्तार हुँदै गएको कस्मेटिक, सौन्दर्य तथा वेलनेस उद्योगलाई केन्द्रमा राखेर वृहत ट्रेड सो ‘कस्मेटिका २०२५’ आयोजना हुने भएको छ। उद्योगसँग आबद्ध व्यवसायी, ब्रान्ड, सेवा प्रदायक र उपभोक्तालाई एउटै प्लेटफर्ममा ल्याउने लक्ष्यसहित उक्त एक्स्पो हुन लागेको हो। नेपालमै पहिलो र एकमात्र वृहत ट्रेड सोका रूपमा परिचित कस्मेटिका २०२५ आगामी पुस ११ देखि १३ गते (डिसेम्बर २६–२८) सम्म काठमाडौँको नक्सालस्थित अम्रपाली ब्याङ्क्वेट सेन्टरमा सञ्चालन हुनेछ।

हाउस अफ राजकर्णीकारद्धारा आयोजना गरिएको यस कार्यक्रमलाई नेपाल कस्मेटिक्स बिजनेस एसोसिएसन तथा ब्यूटिसियन प्रोफेशनल एसोसिएसन अफ नेपालले सहकार्य गरेका छन्। मिडिया पार्टनरका रूपमा वाव म्यागजिन, आईएसपी पार्टनर वेवसर्फर र प्रिन्ट पार्टनर सागर आर्ट सर्भिस रहनेछन्। आयोजकका अनुसार एक्स्पोले सौन्दर्य तथा वेलनेस उद्योगसँग सम्बन्धित स्वदेशी र विदेशी ब्रान्ड, उत्पादक, आयातकर्ता, वितरक, आपूर्तिकर्ता र व्यवसायीलाई एउटै छानामुनि ल्याउनेछ। बी–टु–बी र बी–टु–सी दुवै वर्गलाई लक्षित कार्यक्रममार्फत नयाँ उत्पादन, आधुनिक प्रविधि, सेवा तथा बजारका पछिल्ला ट्रेन्ड सार्वजनिक गरिनेछ।

कार्यक्रममा कस्मेटिक, स्किनकेयर, हेयरकेयर, पर्सनल केयर, वेलनेस ब्रान्ड, प्याकेजिङ कम्पनी, कस्मेटिक प्रविधि प्रदायक, ब्यूटी स्कूल, प्लास्टिक सर्जरी, हेयर इम्प्लान्ट, डेन्टल तथा कस्मेटिक क्लिनिकहरूको सहभागिता रहने बताइएको छ। त्यस्तै, उत्पादक, आयातकर्ता, स्टकिस्ट, खुद्रा विक्रेता, सलुन सञ्चालक, ब्यूटी कन्सल्टेन्ट, छाला रोग विशेषज्ञ, प्लास्टिक सर्जन तथा कस्मेटिक डेन्टिस्टहरू आगन्तुकका रूपमा सहभागी हुनेछन्।

कस्मेटिका २०२५ केवल व्यापारिक प्रदर्शनीमा सीमित नरही सौन्दर्य र वेलनेसको उत्सवका रूपमा प्रस्तुत गरिने आयोजकको भनाइ छ। एक्स्पो अवधिभर उल्लेखनीय योगदान पुर्‍याएका महिलाहरूलाई सम्मान गर्ने ‘हल अफ फेम’, निःशुल्क स्याम्पल वितरण, सेल्फी कियोस्क, नयाँ ब्रान्ड लन्च, लाइभ मेकअप तथा हेयरस्टाइलिङ डेमो, कार्यशाला, सेमिनार र विज्ञसँग प्रत्यक्ष परामर्शजस्ता कार्यक्रम समावेश छन्। वाव म्यागजिन, सायम ब्यूटी पार्लरकी कमला श्रेष्ठ, बोस ब्यूटी एकेडेमीकी सुनिता श्रेष्ठ, ट्रु डर्माका विज्ञान जोशी र इसास ब्यूटीलगायतका प्रस्तुति तथा सत्रहरू एक्स्पोका प्रमुख आकर्षणका रूपमा रहनेछन्।

गत एक दशकमा नेपालमा कस्मेटिक्स र वेलनेस बजार उल्लेखनीय रूपमा विस्तार भएको छ। जीवनशैली, सामाजिक मूल्य र उपभोग संस्कृतिमा आएको परिवर्तनसँगै व्यक्तिगत हेरचाहप्रति उपभोक्ताको चासो बढ्दै गएको देखिन्छ। विशेषगरी १६ देखि ३० वर्ष उमेर समूहका शिक्षित, शहरी र रोजगारीमा संलग्न महिलाहरू यस क्षेत्रका मुख्य उपभोक्ता रहेका छन्। कुल बिक्रीको करिब ६० प्रतिशत हिस्सा काठमाडौँ उपत्यकामा केन्द्रित छ भने बजार उपभोगको करिब ८० प्रतिशत हिस्सा महिलाहरूले ओगटेको तथ्यांक छ। यससँगै पुरुष उपभोक्ताको सहभागिता पनि क्रमशः बढ्दो क्रममा छ।

हाल नेपालमा कस्मेटिक्स तथा पर्सनल केयर बजारको कुल मूल्य करिब २३.६ अर्ब रुपैयाँ पुगेको अनुमान गरिएको छ। सन् २०२५ सम्म आयातको आकार २०.४ अर्ब रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ। उद्योग विज्ञहरूका अनुसार नेपालमा यो क्षेत्र वार्षिक २० देखि २५ प्रतिशतको दरले वृद्धि हुँदै गएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *