काठमाडौं । आउँदो प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै उज्यालो नेपाल पार्टी र सर्वोदय पार्टीले आपसी सहकार्य गर्दै संयुक्त रूपमा चुनावमा जाने निर्णय गरेका छन्। बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत दुवै दलले चुनावी गठबन्धनको औपचारिक घोषणा गरेका हुन्।
गठबन्धनअनुसार दुवै पार्टीले उज्यालो नेपाल पार्टीको चुनाव चिन्ह ‘बलेको चिम’ प्रयोग गर्ने र साझा चुनावी घोषणापत्रसहित निर्वाचनमा सहभागी हुने सहमति गरेका छन्। देशको वर्तमान जटिल र परिवर्तनशील राजनीतिक परिस्थितिबाट निकास खोज्ने उद्देश्यले चुनावी सहकार्य गरिएको जनाइएको छ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राखेर गरिएको सहमतिपत्रमा उज्यालो नेपाल पार्टीका अध्यक्ष ई अनुप कुमार उपाध्याय र सर्वोदय पार्टीका अध्यक्ष ई। दीपक कुमार साहले हस्ताक्षर गरेका छन्।
गठबन्धनले सुशासन, दिगो विकास, सामाजिक न्याय, इमानदार नेतृत्व र जनउत्तरदायी राजनीतिक विकल्पप्रति बढ्दो जनचासोलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ। साथै, पछिल्लो समय देखिएको ‘जेन–जी आन्दोलन’को भावना र मागलाई व्यवहारमा उतार्दै नयाँ राजनीतिक संस्कृतिको सुरुआत गर्ने लक्ष्य लिइएको छ।
सहमति अनुसार उम्मेदवार छनोट जनविश्वास, प्रभावकारिता र इमानदारीताको आधारमा गरिनेछ। प्रचार–प्रसार, जनसम्पर्क, स्रोत–साधन तथा स्वयंसेवक परिचालनलगायत सम्पूर्ण चुनावी गतिविधि दुवै पार्टीले संयुक्त रूपमा सञ्चालन गर्नेछन्।
संयुक्त घोषणापत्रमा सुशासन, पारदर्शिता, स्थिर सरकार, मधेस तथा दुर्गम क्षेत्र केन्द्रित विकास, संविधान संशोधन, राज्य पुनर्संरचना, रोजगारी, शिक्षा, स्वास्थ्य, सामाजिक न्याय, संघीयता र समावेशीता प्रमुख एजेन्डाका रूपमा समेटिने जानकारी पत्रकार सम्मेलनमा दिइयो।




