काठमाडौं । नेपाली कांग्रेसले सार्वजनिक गरेको ‘रकेट स्टाइल’ कार्यतालिका व्यवहारमा भने कछुवा गतिमा अघि बढ्दा पार्टीको १५औँ महाधिवेशन पुसमै सम्पन्न हुने सम्भावना लगभग टरेको छ। कार्यतालिका पारित भएको तीन साताभन्दा बढी समय बितिसक्दा पनि क्रियाशील सदस्यता व्यवस्थापनको काम निर्धारित ढाँचामा अघि बढ्न नसक्दा महाधिवेशन अन्योलमा परेको हो।
१५ मंसिरमा पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकारहरूसँग कुरा गर्दै कांग्रेस प्रवक्ता प्रकाशशरण महतले महाधिवेशनको कार्यतालिका अत्यन्त तीव्र रहेको टिप्पणी गरेका थिए। केन्द्रीय समितिको सहमतिमा पुसको अन्त्यतिर महाधिवेशन गर्ने लक्ष्यसहित कार्यतालिका बनाइएपनि क्रियासिल सदस्यता नवीकरणको विषयले महाधिवेशन अन्योलमा परेको छ ।
केन्द्रीय समितिले ८ पुसभित्र सबै जिल्लाबाट नयाँ क्रियाशील सदस्यता वितरण सम्पन्न गर्ने तालिका तय गरे पनि त्यसअनुसार काम हुन सकेन। बरु, जिल्लाहरूमा पठाइएका नयाँ क्रियाशील सदस्यता फारममा क्रम संख्या नहुनुजस्ता प्राविधिक विवादले प्रक्रिया थप अल्झियो। ६ पुसको बिहानसम्म पनि जिल्लाहरूमा फारम पठाउने काम जारी रहनुले कार्यतालिका सुरुदेखि नै प्रभावित भएको कांग्रेस केन्द्रीय कार्यालय स्रोत बताउँछ। क्रियासिल सदस्यता नवीकरण गर्ने विषयमा महामन्त्री थापा र शर्माले समयमैँ काम गर्न नसकेको कांग्रेस संस्थापन पक्ष तथा इतरसमुहका बरिष्ठ नेता डा. कोइरालाले पनि महामन्त्रीकै कारण निर्धारित समयभन्दा पछि महाधिवेशन जाने संकेत देखिएको बताएका छन् । पछिल्लो समय महाधिवेशनका लागि क्रियासिल सदस्य नै बाधक बनेपछि आफूमाथि लागेका आरोपहरु लुकाउन महामन्त्री थापाले कांग्रेस संस्थापनको टाउकोमा भारी बोकाएको भन्दै कडा आलोचना भइरहको छ ।
केन्द्रीय कार्यालयका अनुसार केही जिल्लाले मात्र हालै नयाँ क्रियाशील सदस्यताको फारम बुझेका छन्। “आइतबार बिहान खोटाङले फारम लगेको छ, अन्य जिल्लाको अवस्था पनि सन्तोषजनक छैन,” स्रोतले भन्यो, “अब पुस अन्त्यमा महाधिवेशन हुने सम्भावना निकै टाढा गइसकेको छ।”
कार्यतालिकाअनुसार वडा, पालिका, प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र हुँदै जिल्ला र केन्द्रसम्म क्रियाशील सदस्यताको विवरण पुग्नुपर्ने थियो। तर ७ पुससम्म आइपुग्दा अधिकांश स्थानमा प्रारम्भिक कामसमेत पूरा नभएकाले पुस अन्त्यमा नयाँ नेतृत्व चयन हुने अवस्था नरहेको कांग्रेस नेताहरू स्वयं स्वीकार गर्छन्।
पार्टी प्रवक्ता महतले पनि सुरुदेखि नै टाइट कार्यतालिकामा महाधिवेशन सम्भव नहुने धारणा राख्दै आएका थिए। “पुस ६ गतेसम्म बल्ल नयाँ क्रियाशील फारम वडातिर पुग्दैछ, यस्तो अवस्थामा दुई दिनमै छानबिन सकिँदैन,” उनले बताए। उनका अनुसार अब छिट्टै पार्टी बैठक बसेर नयाँ कार्यतालिका ल्याइने छ।
यता, महामन्त्री गगनकुमार थापाको नेतृत्वमा रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिले पनि कार्यतालिका प्रभावित भइसकेको स्वीकार गरेको छ। समिति सदस्य योगेन्द्र चौधरीका अनुसार कार्यतालिका अनुसार काम गर्ने प्रयास भए पनि व्यवहारमा केही बाहिर जानुपरेको छ। नयाँ कार्यतालिकाबारे नेताहरूबीच छलफल भइरहेको उनले जानकारी दिए।
समितिका अनुसार करिब ५० जिल्लाबाट मात्रै नवीकरणको विवरण आइसकेको अनुमान छ। कतिपय जिल्लाबाट एक्सेल फाइलमार्फत र कतिपयबाट सफ्टवेयर प्रयोग गरी विवरण आएकाले यकिन तथ्यांक निकाल्न समय लागेको बताइएको छ। यसबाहेक क्यानडा, युके, अस्ट्रेलिया र जापानका जनसम्पर्क समितिहरूमा समेत क्रियाशील सदस्यतासम्बन्धी समस्या देखिएको समितिले जनाएको छ।
महाधिवेशनको मेरुदण्ड मानिने क्रियाशील सदस्यताको नवीकरण र नयाँ वितरणमै व्यापक समस्या देखिएपछि कांग्रेसको नियमित महाधिवेशन पुसमै हुने अपेक्षा कमजोर बन्दै गएको छ। नयाँ कार्यतालिका कहिले र कस्तो आउँछ भन्नेमा अब सबैको चासो केन्द्रित भएको छ।




