काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले देशलाई अहिले राजनीतिक स्थिरता दिनका लागि एउटा अभिभावक आवश्यक रहेको बताएका छन्।
कृष्णप्रसाद भट्टराईको १०२ औँ जन्मजयन्तीको अवसरमा काठमाडौँमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै नेता कोइरालाले संवैधानिक राजतन्त्रको पक्षमा सुझाव आउने भए पनि अब ढिला भइसकेको र एक व्यक्तिको मात्र प्रयास पर्याप्त नहुने बताएका छन्।
उनले राष्ट्रियता र प्रजातन्त्र सँगै लैजान नसके नेपाल बाँच्न नसक्ने भन्दै देशको राष्ट्रिय अवस्था अत्यन्त नाजुक रहेको बताए। उनले भने, “प्रजातन्त्र, लोकतन्त्र छाडातन्त्रमा परिणत भइसकेको छ। जेन–जी आन्दोलनमा नेपाली अनुहार त थियो, तर त्यो भित्र वास्तविक नेपाली अनुहार थियो कि अरू कोही, बुझ्न जरुरी छ।”
नेता कोइरालाले राजनीतिमा नैतिकता र संस्कार अनिवार्य भएको र वर्तमानमा लोकरिझ्याँईलाई प्राथमिकता दिइएको बताएका छन्। उनले राष्ट्रिय मेलमिलाप र स्थायित्व कायम राख्न सबै राजनीतिक पक्षसँग साझा प्रयास आवश्यक रहेको जोड दिए।




