काठमाडौं । जेन(जी) आन्दोलनका क्रममा भएका घटनाको छानबिन गरिरहेको जेन(जी) घटना जाँचबुझ आयोगले अनुसन्धानको प्रारम्भिक प्रक्रिया पूरा भएपछि तीन उच्च पदस्थ पूर्व तथा बहालवाला अधिकारीमाथि लगाइएको विदेश भ्रमण र स्थान हदको प्रतिबन्ध फुकुवा गरेको छ।
आयोगका अनुसार तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुवेर खापुङ र काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको विदेश भ्रमणमा लगाइएको रोक तथा आयोगको स्वीकृतिविना काठमाडौं उपत्यका बाहिर जान नपाउने व्यवस्था सोमबारदेखि हटाइएको हो।
भदौ २३ र २४ गते भएका जेन(जी) आन्दोलनसम्बन्धी घटनाको जाँचबुझ र छानबिनका लागि आवश्यक अनुसन्धान अघि बढाउने क्रममा आयोगले उनीहरूमाथि अस्थायी रूपमा यात्रा प्रतिबन्ध र स्थान हद तोकेको थियो। अनुसन्धानको चरणमा उनीहरूको भूमिका र जिम्मेवारीबारे आयोगले आवश्यक बयान लिइसकेको जनाएको छ।
आयोगले अनुसन्धान प्रक्रिया निरन्तर जारी रहने स्पष्ट गर्दै आवश्यकता परे पुनः थप अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ। साथै, प्रतिबन्ध फुकुवा भए पनि आयोगको काममा पूर्ण सहयोग अपेक्षित रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।





