काठमाडौं । जेनजी आन्दोलनका क्रममा निवासमै भएको आगलागीमा गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी तथा प्राध्यापक रविलक्ष्मी चित्रकार तीन महिनापछि स्वदेश फर्किएकी छन्। भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा लामो समयसम्म चलेको गहन उपचारपछि उनको स्वास्थ्य अवस्था स्थिर र सुधारोन्मुख बनेसँगै मंगलबार राति नेपाल ल्याइएको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै चित्रकारले आफूलाई यस्तो अवस्थामा पुर्याउने घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन सरकारसँग माग गरिन्। उनले पीडितका लागि न्याय र सुरक्षा सुनिश्चित हुनु जरुरी रहेको धारणा व्यक्त गरिन्।
गत भदौ २४ गते बिहान खनाल दम्पती बसोबास गर्ने निवासमा भएको आगलागीमा चित्रकारको शरीरको करिब १५ देखि १७ प्रतिशत भाग जलेको थियो। सुरुमा उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको थियो। तर उपचारकै क्रममा फोक्सोमा निमोनियाको संक्रमण बढ्दै गएपछि चिकित्सकको सल्लाहअनुसार उनलाई एयर एम्बुलेन्समार्फत दिल्लीस्थित एपोलो अस्पताल लगिएको थियो।
एपोलो अस्पतालमा उपचारका क्रममा संक्रमण फैलिन नदिन कुमभन्दा मुनिको देब्रे हात शल्यक्रिया गरेर काट्नुपरेको थियो। त्यसपछि उनको स्वास्थ्य अवस्था क्रमशः सुधार हुँदै गएपछि आईसियुबाट जनरल वार्डमा सारिएको थियो। पछिल्ला केही सातादेखि उनी अस्पताल बाहिर बसेर नियमित फलोअप र थप उपचार गराउँदै आएकी थिइन्।
स्वदेश फर्किएसँगै अब नेपालमै थप उपचार र पुनःस्थापनाको प्रक्रिया अघि बढाइने चिकित्सकहरूले बताएका छन्।




