देश

निर्वाचन नभए विघटित प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्छः प्रवक्ता महत

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अन्तरिम सरकारले निर्वाचनमार्फत नयाँ संसद् गठन गर्न नसके विघटित प्रतिनिधिसभा पुनर्स्थापना गर्नुपर्ने बताएका छन् ।

नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको ४३औँ वार्षिक साधारण सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रवक्ता महतले निर्वाचन नै प्राथमिक विकल्प भए पनि त्यो सम्भव नभए संवैधानिक निकासका रूपमा प्रतिनिधिसभा पुनर्स्थापना आवश्यक हुने धारणा राखे ।

उनले भने, “निर्वाचनबाट संसद् बनाइनुपर्छ । यदि त्यो सरकारले गर्न सक्दैन भने संसद् पुनर्स्थापनाबाट जानुपर्छ भन्ने मलाई लाग्छ । अहिलेको अवस्था यही हो ।”

सरकारले २१ फागुनमा निर्वाचन गर्नुपर्नेमा जोड दिँदै महतले नेपाली काँग्रेस चुनावमा सहभागी हुन तयार रहेको स्पष्ट पारे । जनताले दिएको जनादेश नै संसद्मा अभिव्यक्त हुने र त्यसै संसद्ले आवश्यक सुधार तथा संवैधानिक विषयहरू अघि बढाउने उनको भनाइ थियो ।

“जनताले जे म्यान्डेट दिन्छन्, जनताको इच्छा संसद्मा प्रकट हुन्छ,” उनले भने, “त्यही संसद्ले आवश्यक सुधार, संवैधानिक संशोधन र अन्य महत्वपूर्ण विषयहरू अघि बढाउँछ ।”

प्रवक्ता महतले २१ फागुनमा निर्वाचन हुन नसके देश संसद् पुनर्स्थापनाको प्रक्रियामा जान सक्ने बताए । पुनर्स्थापित संसद्ले सरकार गठन गरी चाँडै निर्वाचन गराउने सम्भावना रहेको उल्लेख गर्दै २०८४ सम्म कुर्नुपर्ने अवस्था नआउने र २०८३ मै निर्वाचन हुन सक्ने धारणा राखे ।

संवैधानिक व्यवस्थामा लामो समयसम्म शून्यता रहनु खतरनाक हुने चेतावनी दिँदै उनले बंगलादेशको पछिल्लो अवस्थालाई उदाहरणका रूपमा प्रस्तुत गरे । त्यहाँ बढ्दो अन्योल र उग्रवादतर्फ संकेत गर्दै नेपाललाई त्यस्तो अवस्थामा जान दिन नहुने उनको भनाइ थियो ।

“बंगलादेशमा अहिले गम्भीर अन्यौल छ, उग्रवाद चरम अवस्थामा पुगेको छ र निर्वाचन झनै अनिश्चित बन्दै गएको छ,” उनले भने, “हाम्रो देशलाई त्यो बाटोमा जान दिनु हुँदैन ।”

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *