काठमाडौं । मिराज ढुंगाना नेतृत्वको समूहले माइतीघरमा विरोध प्रदर्शन गर्ने घोषणा गरेसँगै सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। सम्भावित अवाञ्छित गतिविधि रोक्न माइतीघर वरपर ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।
समूहले जेनजी आन्दोलनको मूल मर्ममाथि धोका भएको दाबी गर्दै आजदेखि देशव्यापी आन्दोलन सुरु गर्ने घोषणा गरेको छ। उनीहरूले सर्वपक्षीय सरकार गठनको माग अघि सार्दै माइतीघरलाई केन्द्रीय प्रदर्शन स्थलका रूपमा छनोट गरेका हुन्।
तर जिल्ला प्रशासन कार्यालय काठमाडौँले भने माइतीघरमा प्रदर्शन गर्न अनुमति नदिने स्पष्ट पारेको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलका अनुसार आन्दोलनको घोषणा गर्दै अनुमति माग्न समूह प्रशासनमा पुगे पनि सुरक्षाका कारण देखाउँदै अनुमति दिन अस्वीकार गरिएको हो।
प्रदर्शनको घोषणापछि माइतीघर क्षेत्रलाई उच्च निगरानीमा राखिएको छ। प्रहरी प्रशासनले शान्ति सुरक्षामा कुनै सम्झौता नगर्ने जनाउँदै आवश्यक तयारी पूरा गरिएको जनाएको छ।




